News Portal

  • देशभरका क्याम्पस बुधबारदेखि स्ववियु पदाधिकारीविहीन

    रातोपोस्ट संवाददाता
    ४३७ पटक

    काठमाण्डाै। देशभरिका क्याम्पस  बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् ।

    आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।

    विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आजका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो ।

    त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिनुभयो ।

    ‘प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ-छ महिना गरी दुई पटक पदावधि बढाएका थियाैँ’, उहाँले भन्नुभयो, ‘तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ ।’

    विसं २०७३ मा २२ आङ्गिक र २८०  सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यसो त त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन् ।

    प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियु निर्वाचन दश वर्षदेखि हुन नसकेको हो । त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताउनुभयो ।

    प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियुविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताउनुभयो । उहाँले स्ववियुले आजदेखि आर्थिक कारोवार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)