News Portal

झापामा बि डिभिजन लिग क्रिकेट प्रतियोगिता सुरू

रातोपोस्ट संवाददाता
७६५ पटक

झापा । प्रथम झापा जिल्ला स्तरीय बि डिभिजन लिग क्रिकेट प्रतियोगिता आइतवार देखि सुरू भएको छ । झापा जिल्ला क्रिकेट संघको आयोजनामा आयोजित प्रतियोगिता मेचीनगर स्थित काँकरभिट्टा माविको खेलमैदान र विर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको बलिङ्गमा ब्याटिङ्ग गरेर गरेका थिए ।

झापा जिल्ला क्रिकेट संघ अध्यक्ष प्रविन थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर खेलकुद समिति संयोजक नविन बराल, प्रदेश नं १ प्रादेशिक क्रिकेट संघ अध्यक्ष मनोज कटुवाल, लायन्स क्लब अफ मेचीनगर उपाध्यक्ष सन्तोष आचार्य, काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर अध्यक्ष मिन बस्नेत, बिरू श्रेष्ठ, लाक्पा लामा, लाक्पा तामाङ, सचित आनन्द सुब्बा, नारद नेपाल, महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रूविना क्षेत्री, सदस्य अप्सरी वेगमलगायतको आतिथ्यता थियो ।

प्रतियोगिताको अन्तर्गत आइतवार  भएको खेलमा प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक र यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोड विजयी भएका छन् ।

काँकरभिट्टा माविको खेल मैदान टस जितेर ब्याटिङ रोजेको आदर्श क्रिकेट एकाडेमी कचनकवलले अलआउट हुदै १ सय ७ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक १० विकेटले विजयी भयो । खेलको म्यान अफ दि म्याच प्याट्रियोटिक क्रिकेट एकाडेमीका सुजन थपलिया घोषित भए । उनले ७५ रन जोडेका थिए ।

त्यसैगरी डोमालाल राजवंशी रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको रोजेको कन्काई क्रिकेट एकाडेमी सुरूङ्गाले १ सय १६ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोड ४ विकेटले विजयी भयो । खेलको म्यान अफ दि म्याच यूनाईटेड क्रिकेट एकाडेमीका समिर कार्की घोषित भए । उनले ४ विकेट लिएका थिए ।

फागुन १८ देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आदर्श क्रिकेट एकाडेमी कचनकवल, प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक, मिलन क्रिकेट क्लब मेचीनगर, आदर्श क्रिकेट एकाडेमी भद्रपुर, धुलाबारी क्रिकेट एकाडेमी मेचीनगर, बाँहुनडागी क्रिकेट एकाडेमी मेचीनगर, कन्काई क्रिकेट एकाडेमी सुरूङ्गा, बोष्टन क्रिकेट एकाडेमी विर्तामोड र यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोड गरी जिल्लाका ९ वटा टिम सहभागी छन् । प्रतियोगिताको सेमीफाइनल पुग्ने ४ टिम जिल्लाको ए डिभिजन लिग खेल्न पाउने छन् ।

प्रतिकृया दिनुहोस्