News Portal

झापामा ३५ ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ

रातोपोस्ट संवाददाता
२१९५ पटक

झापा। झापाको अर्जुनधारा– ११ मा रहेको बसपार्कको एउटा होटलबाट ३५ ग्राम लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले आज ३५ ग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको हो। मेची माउण्ट होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

प्रहरीले होटलमा छापा हानेर ३५ ग्राम ब्राउन सुगरसहित ६ थान मोवाइल र ५५ हजार नगद बरामद गरेको डीएसपी रिजालले बताए।

पक्राउ पर्नेहरुमा फाल्गुनन्द–४ पाँचथरका २४ वर्षीय सञ्जु चेम्जोङ, २० वर्षीय समिर लिम्बू, अर्जुनधारा–६ झापाका विवेक तामाङ, १९ वर्षीय रोशन गुरुङ, देउमाई–२ इलामका २० वर्षीय सन्तोष तामाङ र फिदिम–१३ पाँचथरका १८ वर्षीय दिपेन लिम्बु रहेका छन्।

उनीहरु ब्राउन सुगरको सेवनकर्तासँगै व्यापारीसमेत हुन सक्ने प्रहरीको भनाइ छ।

प्रहरी नायव उपरीक्षक रिजालको नेतृत्वमा अहिलेसम्म ११६ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित १८ जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

जिल्लामा सबभन्दा धेरै परिमाणमा बिर्तामोडबाट लागुपदार्थ बरामद हुने गरेको उपरीक्षक रिजालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्