News Portal

सर्वसाधारणलाई फागु नखेल्न प्रशासनको आग्रह, मेला महोत्सव रोक्न निर्देशन

रातोपोस्ट संवाददाता
८९८ पटक

काठमाडौं। जिल्ला प्रशासन कार्यालय  काठमाडौंले  फागु नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि कोरोनाबाट जोगिन भन्दै प्रशासनले ठुलो संख्यामा फागु नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभरि महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको तथा नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काडमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वहरुमा सहभागी नहुन अनुरोध गर्दछ,’ जिल्ला प्रशासनले काठमाडौंले विज्ञप्तिमा भनेको छ।

गत डिसेम्बरबाट चीनको उहानबाट फैलिएको कोरोना भाइरसको महामारी विश्वभरि फैलिसकेको छ। दक्षिण कोरिया, इरान र इटालीमा चीनभन्दा पनि तीव्र गतिमा संक्रमण फैलिएपछि नेपाल सरकारले यसतर्फ सचेत भएको छ।

कोरोना भाइरसको महामारी फैलिनबाट जोगिनकै लागि सरकारले चीनलगायत पाँच वटा देशको भिसा अनअराइभल सेवा स्थगित गरेको छ। नेपाल भ्रमण वर्ष स्थगित गरेको छ। विमानस्थलमा सुरक्षा जाँचमा कडाइ गरिएको छ।

प्रतिकृया दिनुहोस्