News Portal

कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा

रातोपोस्ट संवाददाता
५७६ पटक

एजेन्सी। विश्वभर कोरोना भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ । झण्डै एक लाख मानिस संक्रमित भएको तथ्यांक आइसकेको छ ।

तर, कोरोना भाइरसलाई व्यवसायिक अवसरका रुपमा देख्नेहरु पनि छन् । यसको खोप तयार गर्न विश्वभरका वैज्ञानिकबीच प्रतिष्पर्धा चलेको छ ।

चीनले कोरोना भाइरसको खोप बनाउन महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । चिनियाँ सैनिक रिसर्च टोलीले खोप तयार गर्न उपलब्धि हासिल गरेको ग्लोबल टाइम्सले जनाएको छ । यसमा चिनियाँ मेडिकल विज्ञ चेन वीको नेतृत्वको टोली छ ।

अमेरिकी वैज्ञानिकहरु पनि प्रतिष्पर्धामा छन् । एउटा कम्पनिले क्लिनिकल परीक्षण नै शुरु गरिसकेको जनाएको छ ।

इनोभिओ फारमासिटिकल्सले मंगलबार क्लिनिकल परीक्षण आगामी महिना नै शुरु गर्ने घोषणा गरेको छ । उसले ३० जना चिनियाँ र दक्षिण कोरियाली संक्रमितलाई खोपको परीक्षण गर्ने भएको छ ।

खोप बनाउन अमेरिका, चीन र भारतका कम्पनिहरुले अरबौं लगानी गरिसकेका छन् । खोप बनाइएमा उनीहरुले खरबौंको फाइदा लिन सक्छन् ।

विश्वभर यसको प्रयोग हुनसक्छ । यसैले विकसित देशका वैज्ञानिकहरु यसमा अहोरात्र लागिसकेका छन् ।

भारतले पनि खोपलाई अन्तिम रुप दिने घोषणा गरिसकेको छ । भारतको चर्चित खोप कमपनि सेरम यसमा लागिरहेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेको घोषणा गरसकेका छन् । ।

यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ । त्यसअघि मुसामा यसको परीक्षण हुनेछ ।

सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्याक्सिन परीक्षणका लागि आफूहरु निकै अगाडि बढिसकेको खुलासा गरेका छन् । सामान्यता कुनैपनि भ्याक्सिन पूरा विकास गर्न सात देखि आठ वर्ष लाग्ने गरेकोमा छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन् ।

तयार गरिएको भ्याक्सिन यसै महिनाभित्र मुसामा परीक्षण गरिनेछ । मानवमाथि छ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ । सन् २०२२ मा भ्याक्सिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ ।

छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्याक्सिनमध्ये सबैभन्दा छिटो हुनेछ । सेरमका वैज्ञानिकहरु भ्यासिन तयार गरेर निकै उत्साही भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्