
काठमाडौं । रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ सारा देश भरि नै मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ ।
देशभरिका बिभिन्न जिल्लामा आज रङ, अबीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रङ र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता रहेको छ।
होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।
होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। तर यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सिङ्गो विश्वले सावधानी अपनाईरहेको छ ।
यसैबीच नेपाल सरकारले सार्वजनिक समारोह, कार्यक्रम, भेला, गोष्ठी तथा भीडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न र नगराउन तथा त्यस किसिमका कार्यक्रममा सहभागी नहुन सचेत गराईरहेको छ ।