News Portal

दक्षिण एसियाका सबै देशमा कोरोना भाइरस, भारतमा सबैभन्दा धेरै संक्रमित

इरान, इटाली र चीनबाट आएकाबाट फैलियो

थाहा खबर
६६५ पटक

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुकमा कोरोना भाइरस पुगेको छ।

पछिल्लो पटक श्रीलंका र बंगलादेशमा पनि कोरोना भाइरस संक्रिमत बिरामी आइतवार भेटिएका हुन्। नेपालसहित आठवटै देशमा कोरोना भाइरसका बिरामी भेटिए पनि अहिलेसम्म यी आठै मुलुकमा कोही पनि बिरामीको ज्यान भने गएको छैन।

चिनियाँ नागरिकको बाक्लो उपस्थिति हुने यी सार्क क्षेत्रका यी मुलुकमध्ये भारतमा सोमबारसम्म कोरोनाका ४३ जना बिरामी भेटिएका छन्।

पछिल्लो पटक आइतवार सार्क सदस्य राष्ट्र बंगलादेशमा तीजना कोरोनाका बिरामी भेटिएका छन्। बंगलादेशको राजधानी सहर ढाकामा गरिएको परीक्षणबाट २० देखि ३५ वर्षबीचका २ पुरुष र एक महिलालाई कोरोना संक्रमण पाइएको हो।

कोरोना संक्रमितमध्ये २ जना भर्खरै इटालीबाट फर्किएको त्यहाँका स्वास्थ्यअधिकारीले जनाएका छन्। त्यसैगरि अर्को सार्क राष्ट्र श्रीलंकमा पनि कोरोना भाइरसबाट संक्रमित एकजना बिरामी भेटिएका छन्।

उनलाई पनि क्‍वारेन्टाइनमा राखेर उपचार भइरहेको छ।

भारतमा सबैभन्दा धेरै 

विश्‍व स्वास्थ्य संगठनमा अनुसार दक्षिण एसियाली मुलुकमध्ये भारतमा सोमबारसम्म ४३ जना कोरोना भाइरसका बिरामी भेटिएका छन्।

जसमध्ये चारजना निको भइसकेका छन् भने ३९ जनाको उपचार जारी रहेको छ। त्यहाँ सोमबार थप चारजना कोरोनाका बिरामी भेटिएका हुन्।

भारतीय सञ्‍चारमाध्यमका अनुसार पछिल्लो पटक दक्षिणी राज्य केरलमा तीनजना नयाँ कोरोनाका बिरामी भेटिएका छन्।

केरलमा एकजना तीन वर्षीय शिशुमा पनि कोरोना भेटिएको छ। त्यसैगरी हिमाली राज्य जम्मू-कश्‍मीरमा पनि एकजना कोरोनाका बिरामी भेटिएका भारतस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतको राजस्थानस्थित जयपुरमा सबैभन्दा धेरै १७ जना कोरोनाका बिरामी भेटिएका छन्। जसमा १६ जना इटालीबाट घुम्न आएका हुन् भने एकजना भारतीय ड्राइभर पनि संक्रमित भएका छन्।

त्यसपछि उत्तर प्रदेशमा ७ जना र केरलमा ६ जना संक्रमित भइसकेका छन्।

पाकिस्तान दोस्रोमा

चिनियाँ नागरिकको बाक्लो आवतजावत हुने अर्को दक्षिण एसियाली देश पाकिस्तानमा पनि कोरोनाका ७ जना बिरामी भेटिएका छन्।

पाकिस्तानमा भेटिएकामध्ये एकजनाको उपचार भइसकेको छ भने ६ जनाको उपचार जारी रहेको छ।

पाकिस्तानको कराँची र इस्लामावादमा कोरोनाका संक्रमित भेटिएका हुन्।

समाचार अनुसार इरान, इटाली र चीनबाट फर्किएकाहरुमा कोरोना संक्रमण भेटिएको हो।

अफगानिस्तान र माल्दिभ्समा पनि

अन्य दक्षिण एसियाली मुलुक अफगानिस्तान र माल्दिभ्समा पनि कोरोनाका बिरामी भेटिएका छन्। समाचार अनुसार अफगानिस्तानमा चारजना कोरोना संक्रमित भेटिएका हुन्।

उनीहरुको उपचार भइरहेको छ। अफगानिस्तानमा ३६ जनाको परीक्षणमा भएकोमा ४ जना संक्रमित भेटिएका हुन्।

त्यसैगरी टापु मुलुक माल्दिभ्समा पनि चारजना कोरोना संक्रमित भेटिएका छन्। जसमा दुई जना क्युरेड्यु आइसल्यान्ड रिसोर्टका कामदार हुन्।

दुईजना कामदारलाई कोरोना भेटिएपछि अन्यलाई पनि क्‍वारेन्टाइनमा राखिएको त्यहाँको सरकारले जनाएको छ।

भुटानमा अमेरिकीले लगे

हिमाली मुलुक भुटानमा पनि एक अमेरिकी पर्यटकमार्फत कोरोना भाइरस पुगेको छ।

गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटानले सजगता अपनाएको छ।

थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस भएको लक्षण भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ।

भारतको हुँदै थिम्पुको पारो विमानस्थलमा उत्रिएका ती अमेरिकीको स्वास्थ्य परीक्षणका क्रममा कोरोना भेटिएको थियो।

सरकारले कोरोना भेटिएसँगै थिम्पुका केही विद्यालय बन्द गरिदिएको छ। अर्कातिर सभा, गोष्ठी जस्ता भिडभाडयुक्त कार्यक्रम पनि तत्काललाई रोक्न निर्देशन दिएको छ।

सरकारले भारतबाट छिरेका ती अमेरिकीसहित उनको सम्पर्कका आएका अन्य २१ जनालाई क्‍वारेन्टाइनमा पठाएको छ।
श्रीलंकामा एकजना 

अर्को दक्षिण एसियाली मुलुक श्रीलंकमा पनि कोरोना एकजना संक्रमित भेटिएका छन्।

इटालीबाट आएका एकजना श्रीलंकनमा गत मार्च १ मै कोरोना भेटिएको हो।

श्रीलंकन अधिकारीहरुका अनुसार एकजना ४६ वर्षीया महिलामा कोरोना संक्रमण पाइएको हो।

इटालीबाट श्रीलंका फर्किएपछि कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई निगरानीमा राखेर उपचार गराएपछि ठीक भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबारसम्म कति देशमा? 

विश्‍व स्वास्थ्य संगठनका अनुसार डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस सोमबारसम्मा आधा भन्दा धेरै विश्‍वमा पुगिसेकको छ।

सोमबारसम्म कोरोना भाइरस विश्‍वका १०९ देशमा फैलिइसकेको छ।

जसबाट हालसम्म १ लाख ११ हजार ३ सय ८१ जना संक्रमित भएका छन्। जसमध्ये सबैभन्दा धेरै ८० हजार ७ सय ३९ जना संक्रमित छन्।

जसमा ३११२ जनाको ज्यान गएको छ। त्यसपछि इटालीमा ७ हजार ३ सय ७५ जना संक्रमित हुँदा ३६६ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा ७ हजार ४ सय ७८ जना संक्रमित भएका छन्। त्यहाँ ५३ जनाको ज्यान गएको छ।

मध्यपूर्वी मुलुक इरानमा ७ हजार १ सय ६१ जना संक्रमित हुँदा २३७ जनाले ज्यान गुमाएका छन्।

अहिले कोरोनाको संक्रमणका कारण इटालीले करिब एक करोड ६० लाख जनसंख्यालाई क्‍वारेन्टाइनमा राखेको छ।

त्यसपछि फ्रान्स र स्पेनमा पनि कोरोनाले महामारीको रुप लिइरहेको छ।

प्रतिकृया दिनुहोस्