News Portal

गीता छोएर कसम खाँदै कमल थापाले भने– अब पार्टी फुट्न दिन्नँ

रातोपोस्ट संवाददाता
७६७ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकताको औपचारिक घोषणा गरिएको छ । बुधबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी दुई पार्टीबीचको एकता घोषणा गरिएको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले  यसअघि पटकपटक विभाजित भएका आफूहरू अब कहिल्यै नफुट्ने गरी एक भएको भन्दै आजको दिन कोशेढुंगाको रूपमा रहने बताउनुभयो ।

२०७३ साल फागुनमा भएको एकता महाधिवेशनबाट आफू अध्यक्षमा निर्वाचित भएपनि ६ महिना बित्न नपाउँदै पार्टी पुनःविभाजन हुन पुगेको उल्लेख गर्दै त्यस्तो गतिविधि नदोहोरिने भन्दै गीता छोएर पार्टी नफुटाउने कसम खाएका छन्।

यस्तै अर्का अध्यक्ष पशुपतिशमशेर जबराले एकता भन्दा पनि सरकारप्रति आक्रोश पोख्नुभयो । जनताका आशा, भरोसा तथा आकांक्षालाई सरकारले कुण्ठित पारेको भन्दै गाउँ गाउँमा सिंहदरबार पु¥याउने नाममा भ्रष्टाचार पुगेको आरोप लगाउनुभयो ।

यसैगरी अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भईरहेको भन्दै आफूहरुको पार्टी एकताले जनतामा उत्साहित भएको बताउनुभयो ।

दुवै पार्टीबीच गत शनिबार राति पार्टी एकीकरण गर्ने सहमति भएको थियो । सहमति पत्रमा राप्रपा अध्यक्ष थापा, राप्रपा संयुक्तका डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले हस्ताक्षर गरेका थिए ।

एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्ष राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति गरेका छन् ।

२०४७ जेठ १५ मा गठन भए यताको २९ वर्षमा राप्रपा ५ पटक विभाजितक र ४ पटक एकीकृत भइसकेका छन् । यसैबीच,एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले भने बहिष्कार गर्नुभएको छ ।

उहाँले राजसंस्था पुर्नस्थापनाको पक्षमा आफु नरहेको भन्दै राप्रपाले लिएको राजसंस्था पुर्नस्थापनाको नीतिप्रति आफ्नो समर्थन नरहेकोले वहिष्कार गरेको जनाउनु भएको छ ।

 

प्रतिकृया दिनुहोस्