News Portal

  • नगरमा मेयर र उपमेयरकाे विवादका कारण दुई कार्यालय

    रातोपोस्ट संवाददाता
    ८१७ पटक

    सर्लाही।   सर्लाहीको बलरा नगरपालिकाका मेयर र उपमेयरले बेग्लाबेग्लै ठाउँमा कार्यालय स्थापना गरी काम गरिरहेका छन् ।

    आपसी विवादका कारण मेयर अभयकुमार सिंह र उपमेयर रामसखी देवीले अलग-अलग ठाउँमा कार्यालय खाेलेपछि सेवाग्राही अलमलमा परेका छन् ।

    उनीहरु बीचमा विवाद हुँदा नगरको काम कारबाही प्रभावित भएकाे छ भने नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरबासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

    नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै मेयर सिंहले हथियौलको निजी घरमा कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहनुभएको छ । यस्तै उपमेयरले नगरपालिकाकै कार्यालयमा आफ्नाे दैनिक कार्य सम्पादन गर्नुहुन्छ ।

    मेयर सिंह र उपमेयर रामसखी राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनुभएको हो ।

    एउटै पार्टीबाट मेयर र उपमेयर निर्वार्चित भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन ।

    पछिल्लो समयमा उपमेयर रामसखीले नेपाली का‌ङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर मेयर सिंहको विरोध गर्नुभएको बताइएको छ ।

    उहाँले मेयर सिंह एकलौटी ढङ्गले चलेको, नगरको विकासलगायतका काममा आफूहरुसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ ।

    ‘आफूहरु नगरपालिकाको कार्यालयमा बसेर नगरबासीलाई सेवा प्रदान गरिरहेको भए पनि मेयर सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राख्नुभएको छ । आफ्नो मनोमानी निरन्तर गरिरहनुभएको छ’, उपमेयरले भन्नुभयो ।

    मेयर सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताउनुहुन्छ । ‘आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ’,मेयर सिंहले भन्नुभयो ।

    उपमेयर र वडाध्यक्षले बिना कारण नगरको काममा अवरोध गरी पटक-पटक तालाबन्दी गरेकाे र आफूलाई त्यो स्वीकार्य नभएकाेले बाध्य भएर अर्को कार्यालय खोलेर नगरबासीको सेवा गरिरहेको मेयर सिंहको भनाइ छ  ।

    एउटै नगरपालिकाको कार्यालय दुई ठाउँमा सञ्चालन हुँदा मेयर, उपमेयर तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)