News Portal

पूर्वी नाकामा कोरोना भाइरस सचेतना कार्यक्रम

रातोपोस्ट संवाददाता
७६२ पटक

 

 

 

 

 

 

 

 

झापा। मेचीनगर नगरपालिकाले शनिवार  कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि काँकरभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम गरेकाे छ ।

कार्यक्रमका सहभागी अधिकांशले काँकरभिट्टा नाका जोखिमका दृष्टिले अति सम्बेदनशील क्षेत्र भएको हुँदा नाका बन्दको कदम चालेर भए पनि जोखिम न्यूनीकरणको प्रयास गरिनुपर्ने धारणा राखेका थिए ।

‘सयौं व्यक्तिलाई लाममा उभ्याएर एउटा थर्मल गनका भरमा कोरोनाको सङ्क्रमण रोक्न सम्भव हुँदैन,’ ज्येष्ठ नागरिक जिल्ला सङ्घका वरिष्ठ सदस्य कृष्णप्रसाद उप्रेतीले कार्यक्रममा भने–‘नाका बन्द गरेर भए तापनि कोरोना भित्रिन नदिने कडा कदम चालियोस् ।’

उनले नेपालीहरु नाका बन्द हुँदा भोकले नमर्ने हुँदा कोरोना जस्तो महामारी रोक्न सकिन्छ भने जस्तोसुकै चुनौतिको सामना गर्न तयार रहेको बताए ।

मेची अञ्चल टेम्पो एन्ड ईरिक्सा यातायात प्रालिका अध्यक्ष विवेक लिम्बुले दिल्ली, मुम्बई, कोलकाता, सिलगढीलगायत भारतका विभिन्न कोरोना प्रभावित सहरबाट आउने यातायातका साधन काँकरभिट्टाबाट निर्वाध भित्रिरहेको हुँदा त्यसबाट सङ्क्रमण फैलिने जोखिमतर्फ कसैको ध्यान नगएकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भारतका यातायातका साधनलाई नाकाबाट पस्न दिन नहुने सुझाव राखेका छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सीमित स्रोत साधनका भरमा नाकामा गरिएको चेकजाँच अव्यवस्थित भएको स्वीकार गर्दै नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र स्थानीय तह मिलेर चेकजाँचलाई विश्वसनीय र व्यवस्थित बनाउन तत्काल पहल गरिने बताइन् ।

उनले भारतबाट स्थानीय उद्योगहरुमा काम गर्न आउने भारतीय मजदुरलाई ज्वरो नआएको प्रमाणपत्र नल्याए काममा नलगाउन उद्योगीहरुलाई आग्रह गरिएको जानकारी दिइन् ।

मेचीनगरका प्रमुख विमल आचार्यले छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नदिन नाकामा चेकजाँचलाई व्यवस्थित गर्न र अनावश्यक ओहोरदोहोर रोक्न जरुरी भएको बताउँदै नगरपालिकाको विपत व्यवस्थापन समिति र कार्यपालिका बैठकले नाकाको चेकजाँच र उद्धार लगायतका अत्यावश्यक कार्यका लागि नेपाली सेनासँग सहयोग माग्ने निर्णय गरिएको जानकारी दिए ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीले प्रदेश नं. १ सरकारको पहलमा प्रदेशका ६ वटा अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै आइसोलेसन शैयाको व्यवस्था गरिएको र नेपाली सेनाको नेतृत्वमा सुनसरीको कोशी टप्पु र मोरङको टाँडीमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको बताएका छन् ।

उनले काँकरभिट्टा नाकाको सम्बेदनशीलता बुझेर पर्याप्त ‘थर्मल गन’ र जनशक्ति उपलब्ध गराउन प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेको शनिवार नै फोन सम्पर्क गरेर आफुले ध्यानाकर्षण गराएको जानकारी दिए ।

नाकामा उच्च सतर्कताका लागि आवश्यक उपकरण र जनशक्तिका लागि प्रदेश र स्थानीय सरकारले सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।

यसैबीच, मेचीनगर नगरपालिकाले प्रवेशविन्दुमा रहेको नगरपालिका भएको कारण आफ्नो नगरका मुख्य चार स्थान काँकरभिट्टा, इटाभट्टा, धुलावारी र चारआलीमा नेपाल प्रहरीसँगको सहकार्यमा हेल्पडेस्क सञ्चालन गरिसकेको छ भने नगरपालिकाका सबै १५ वटा वडा कार्यालयमा सर्वसाधारण सबैले साबुनपानीले हात धोएर मात्र प्रवेश गर्ने अनिवार्य व्यवस्था मिलाएको छ ।

प्रतिकृया दिनुहोस्