News Portal

ग्यास लुकाए सेना र प्रहरी लगाएर हस्तक्षेप गर्छौंः मन्त्री भट्ट

रातोपोस्ट संवाददाता
४३६ पटक

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाएर बल प्रयोग गर्ने चेतावनी दिएका छन् । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास नपाएपछि ग्यास उद्योगीलाई मन्त्रालयमा बोलाएर यस्तो चेतावनी दिएका हुन् । छलफलका लागि भन्दै ग्यास उद्योग संघलाई मन्त्रालयमा मन्त्री भट्टले बोलाएका थिए ।

मन्त्री भट्टले ग्यास उद्योगीले सहयोग नगरे प्रहरी तथा सेनासमेत परिचालन गर्न सक्ने चेतावनी ग्यास उद्योगीलाई दिए । उनले बाह्रखरीसँग भने, “ग्यासलाई कसरी सहज बनाउने विषयमा छलफल गरेको हो । ग्यास बिक्री वितरण सहज नभए सेना लगाउन पनि सरकार पछि पर्दैन ।”

मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताए । सो क्रममा मन्त्री भट्टले ग्यासमा तत्काल सहजता नआए उद्योग, डिलर र सब–डिलरको लाइसेन्स खारेज गर्ने प्रक्रिया समेत अगाडि बढाउने चेतावनी दिएका थिए ।

छलफलका क्रममा ग्यास उद्योगीले कारबाही गर्ने वातावरण बन्न नदिने प्रतिबद्धता व्यक्त गरेको थिए । ग्यास उद्योग संघका वरिष्ठ उपाध्यक्ष कुश मल्लीले होली मनाउन भारत गएका ड्राइभर आउन ढिला भएका कारण ग्यास आपूर्ती केही असहज भएको बताएको जानकारी गराए ।

उनले अबको एक सातामा ग्यास आपूर्ती सहज हुने पनि बताए । उनले बाह्रखरीसँग भने, “ग्यास सहज बनाउने विषयमा मन्त्रीज्यूसँग छलफल भयो, मासिक ५० हजार मेट्रिक टन ग्यास आयात गर्ने भन्ने भएको छ ।”

व्यवसायीले सरकारलाई कारबाही नै गरिहाल्नुपर्ने अवस्था सिर्जना हुने वातावरण बन्न नदिने बताएको उनले जानकारी गराए । उनले भने, “मन्त्रीज्यूले ग्यास सहज नभए बल प्रयोग गर्ने बताउनुभयो, हामीले त्यो वातावरण बन्न दिदैनौं भनेका छौं ।”

प्रतिकृया दिनुहोस्