News Portal

काभ्रेको पनौतीमा लगाइएको कर्फ्यु हट्यो

रातोपोस्ट संवाददाता
८७६ पटक

काभ्रे । जिल्लाको पनौतीमा सोमबार टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको थियो।

आमाछोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा लगाइएको कर्फ्यु हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार अधिकारीले पनि विज्ञप्ति जारी गर्दै बेलुका ८ बजेदखि कर्फ्यु हटाइएको जनाएका छन्।

खानीखोला गाउँपालिका-१ स्थित हात्तीडाँडामा पर्ने कालीदेवी प्राथमिक विद्यालयकी प्रधानाध्यापक जुनीमाया गोले ब्लोन र उनकी ३ वर्षीया छोरी स्मारिका ब्लोनको बा ५ख ५४८० नम्बरको टिपरको ठक्करबाट सोमबार ज्यान गएको थियो।

घटनापछि टिपर र टिपर चालक रोशी गाउँ पालिका ६ घर भएका नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको  छ।

स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुकादेखि मंगलबार बिहानभर तनावग्रस्त थियो।

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो। प्रहरी र प्रदर्शनकारी घाइते प्रदर्शनका क्रममा ६ जना प्रहरी र तीनजना प्रर्दशनकारी घाइते भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो।

प्रर्दशनकारीले पनौतिमा रहेको प्रहरी बिट तोडफोड गरेका छन्। घाइते हुनेमा प्रहरीका सई वीरेन्द्र शाह, हवल्दार मिन बहादुर थापा, दिलिप बुढाथोकी र सुनिता घिमिरे, प्रहरी जवान नवराज भारती र ललित थापा मगर रहेका छन्।

ज्यान गुमाएका जुनीमायाकी देवर पेशल ब्लोनले  चालक थापाको नाममा प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्