News Portal

बाजुरामा उच्च ज्वरोका कारण दुईको मृत्युु,दर्जनौं बिरामी

१०१५ पटक

बाजुरा ।बाजुराको स्वामीकार्तिक गाउँपालिकामा अज्ञात रोगले दुईजना बालकको मृत्यु भएको छ । स्वामीकार्तिक गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाका छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको स्थानीय शिक्षक जनेश भण्डारीले बताए।

भर्बल विकको छोराको चैत्र ४ गते र चतुरे थापाको छोराको चैत्र ५ गते मृत्यु भएको हो । स्थानीयका अनुसार दुबै जनाको अत्याधिक ज्वरोका कारण मृत्यु भएको बताइएको छ । अन्य बिरामीमा ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षण देखा परेका छन् । रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडीमा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनकबहादुर रोकायाले बताए ।

रुघाखोकीकोजस्तै लक्षण देखा परेका छन् । रोगले वडा नम्बर २ त पुरै प्रभावित भएको छ । फयाल गाउँका स्थानीय तथा स्वामीकार्तिक गाउँपालिका आनन्द बुढाले फयाल गाउँमा मात्र ६० जना भन्दा बढी बिरामी छन् ।उनले ज्वरो आउने टाउको दुख्ने, खोकी लाग्ने हात खुट्टा दुख्ने लगायतका लक्षण देखा परेको बताए ।

स्वास्थ्य संस्थामा पनि औषधि अभाव भएको बताइएको छ। वडा नम्बर १ का अध्यक्ष जनकबहादुर रोकायाले वडाबाट अहेबसहित स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाउन लागेको बताए । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले यसबारे जानकारी नआएको बताए ।

गाउँपालिका अध्यक्ष चीरिञ्जिवि शाहीले दुई बालकको मृत्यु भएको र अन्य केही बिरामी भएको खबर आएको बताए। उनले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भइरहेको बताए । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भने आफूलाई यसबारे कुनै जानकारी नभएको बताए।स्वामीकार्तिक गाउँपालिका १ र २ सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्छ।अन्नपूर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्