News Portal

काेराेना त्रास-सरकारलाई टेरेन क्यासिनोले,भारतिय जुवाडेकाे भिड

रातोपोस्ट संवाददाता
८४४ पटक

झापा । विश्वभर (काेभिड-१९) काेराेना भाइरसका कारण व्यापक त्रास फैलिएकाे र विश्व स्वास्थ संगठनले नेपाललाई उच्च जाेखिममा रहेकाे बताए सँगै नेपाल सरकारले देशभरका सार्वजनिक कार्यक्रमहरुमा समेत राेक लगाउँदै भिडभाड कम गर्न,बैठक,सभा जस्तो कार्यक्रमहरु नगर्न ,सिनेमा हलहरु लगायतका भिडभाड बढिहुने स्थानहरु बन्द गर्न,स्विमिङ पुल,खेल स्थल,मनाेरञ्जन स्थल लगायतका क्षेत्र बन्द गर्न सुचना जारी गरेपनि झापाकाे सिमानाकामा रहेकाे मिनि क्यासिनाे भने सरकारी सुचनालाई बेवास्ता गर्दै निर्वाध रुपमा सञ्चालनमा भैरहेको पाइएको छ।
सरकारले २५ जना भन्दा बढी मानिस जमघट नहुन समेत विज्ञप्तिमार्फत उल्लेख गरेपनि सुचनालाई बेवास्ता गर्दै झापाकाे मेचिनगर स्थित न्यु ढाका हाेटलमा सञ्चालनमा रहेको ह्याप्पि आवर गेमिङ क्लब निर्वाध रुपमा चलिरहेको छ। झापाका अधिकांश हाेटलहरु अहिले बन्द जस्तै छन्,भने अधिकांश सार्वजनिक स्थलमा हुने भिडभाडका कार्यक्रम समेत राेकिएको , साप्ताहिक रुपमा लाग्ने हाट बजारहरु समेत बन्द भैसकेको छ भने काकडभिट्टा स्थित हाेटल रियाजमा सञ्चालित रग इन्टरनेशनल मिनि क्यासिनाे समेत बन्द भैसकेको छ।

तर न्युढाका हाेटल स्थित सञ्चालित ह्याप्पि आवर मिनि क्यासिनाेले भने सरकारी सुचनालाई बेवास्ता गर्दै सञ्चालनमा रहेकाे हाे।क्यासिनाेमा दैनिक सयौंको संख्यामा भारतिय नागरिक जुवा खेल्न आउने गरेका छन्।जसका कारण नेपालमा काेराेना भित्रीन सक्ने र यसले महामारीको रुप लिन सक्ने हुँदा स्थानिय बासिन्दा त्रसित बनेका छन्।

सरकारले काेराेनाकाे जाेखिमबाट बच्न भन्दै सिमानाकामा अस्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याएपनि प्रभावकारी हुन सकेको छैन।जसका कारण दैनिक भारतबाट जुवा खेल्न आउनेहरु सजिलै नेपाल प्रवेश गरिरहेका छन्,।भारतमा अहिले काेराेना भाइरसका कारण ३ जनाको मृत्यु भैसकेको छ भने १४३ जनामा यसको संक्रमणकाे पुष्टि भैसकेको छ।

डब्लुएचओका अनुसार कोरोना भाइरस मानिसले दिनहुँ प्रयोग गर्ने मोबाइल, कम्पुटर, ल्यापटप र पैसाजस्ता वस्तुबाट एक–अर्कामा सर्न सक्ने पुष्टि गरेको छ । सामान्यतया यस्ता भाइरस करिब ६ दिनसम्म कुनै चिजमा रहन सक्ने हुँदा संक्रमणको जोखिम हुने गर्छ । जस्तै, हामीले स्मार्टफोनको प्रयोग पटक–पटक गरिहेका हुन्छौँ । फोन र ल्यापटपमा पनि भाइरस जीवित रहन सक्ने भएकाले यस्ता वस्तुको प्रयोगपश्चात् हातमुख राम्ररी सफा गर्न आवश्यक हुन्छ ।यता क्यासिनाेमा भारतिय नागरिककाे बाक्लो जमघट र पैसाको काराेबार समेत बढि मात्रामा हुने भएकोले काेराेना भाइरस (प्राेभिड-१९)यहीँबाट फैलन सक्ने अवस्था रहेको र सम्बन्धित निकायले क्यासिनोमा हुने भिडभाडका बारेमा बेवास्ता गरेसँगै त्रसित हुनुपरेको स्थानीयले बताए ।क्यासिनो नजिकै इलाका प्रहरी कार्यलय रहेपनि प्रहरीले समेत बेवास्ता गरेपछि क्यासिनो सञ्चालनमा रहिरहेकाे स्थानिय बासिन्दाले आक्राेश पाेखेका छन्। यता नगरपालिकाले भने एक विज्ञप्ति जारी गर्दै मेचिनगर भरिका हाेटल ,क्यासिनो ,जिम हाउस,स्विमिङ पुल लगायत भिडभाड हुने सबै स्थान बन्द गर्न आग्रह गरेको छ।

मेचीनगर नगरपालिका कार्यालयले नियमिति रुपमा प्रदान गर्दै आएको सेवामा पनि आजदेखि कटौती गरेको छ ।
कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिन सचेतनामुलक कार्यमा सिङ्गो नगरपालिका परिचालन भएकाले नगर तथा वडा कार्यालयले नियमिति रुपमा दिदैं आएको सेवामा कटौती गरेको मेचीनगरका सामाजिक बिकास शाखाका प्रमुख अनन्तप्रकाश वस्तीले जानकारी दिएका छन्।।

अत्यावश्यक सिफारिस र दमकल लगायतका सेवा बाहेकका अन्य काम चैत १५ गतेसम्मका लागि रोकिएको नगरपालिकाले सुचना नै जारी गरेर जानकारी गराएको वस्तीले बताए ।
सरकारले पनि २५ जनाभन्दा बढीको भिडभाडमा रोक लगाएको र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा केही समयका लागि बन्द गर्ने भनेकाले पनि नगरपालिकाले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फ बताइएको छ ।

पुर्वी सिमानाको नगरपालिका भएकाले पनि सिमामा प्रभावकारी ब्यवस्थापन र अन्य क्षेत्रमा समेत कोरोना भाइरसबाट बच्न सचेतना अभियान सञ्चालन गर्नु पर्ने भएकाले नगरपालिकाले आफ्ले प्रवाह गर्दै आएको सेवा कटौती गरेको जनाइएको छ । नगरपालिकाले नगरभित्र सञ्चालन भएका होस्टल, क्यासिनो, पुल हाउस, जिम सेन्टर, डान्स सेन्टर, डिस्को क्लब, सिनेमा हलहरु चैत मसान्तसम्मका लागि बन्द गर्न सुचना जारी गरिसकेको छ।

यसैबिच कोरोना भाइरसको संक्रमण रोक्न अन्य धेरै काम गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिकाको न्यायिक समितिले अत्यावश्यक बाहेकका छलफल र इजलास बन्द गरेको छ ।

यतिबेला कोरोना भाइरस रोकथामका लागि नगरपालिकाका तर्फबाट बिभिन्न कार्याक्रम सञ्चालन गर्नु पर्ने अवस्थामा छलफल र इजलाजस सञ्चालन गर्न समय ब्यवस्थापन नहुने हुँदा अत्यावश्यक बाहेकका न्यायिक समितिका अन्य काम बन्द गरिएको न्यायिक समिति संयोजक तथा मेचीनगर उपप्रमुख मिना उप्रेतीले बताइन । यो बेला सबै जुटेर काम गुर्न पर्ने भएकाले बिवाद र मुद्धाका छलफल भन्दा पनि सबै एक हुने बेला आएकोले पनि न्यायिक समितिको काम कटौती गरिएको उपप्रमुख उप्रेतीले बताइन ।

प्रतिकृया दिनुहोस्