News Portal

धादिङकाे एकै गाउँमा तीन जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६४० पटक

धादिङ ।धादिङको सिद्धलेक गाउँपालिका २ एैसेलुगैरा भन्ने स्थानमा २ दिनको अन्तरमा ३ जनाको रहस्यमय मृत्यु भएको छ । बुधबार राती २ जनाको सुतेकै ठाउँमा मृत्यु भएको थियो भने शुक्रबार बिहान फेरी एकजना महिला मृत अवस्थामा घरमै भेटिएकी छन् ।

बुधबार राती १२ बजेतिर ऐसेलुगैराका ७२ वर्षीय लालबहादुर नेपाली र उनकी भान्जी बुहारी नाता पर्ने ३५ वर्षीय सुन्तली नेपाली उनीहरुको आ-आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

शुक्रबार बिहान सोही ठाउँकी ६३ वर्षीय यम कुमारी अर्याल पनि मृत भेटिएकी हुन् । बिहीबार बिहान बुधबार राती २ जनाको मृत्यु भएको घटनास्थलमा पुगेकी अर्याल बेलुका खाना खाएर टीभी हेरेर सकुशल सुतेकी थिइन् । तर शुक्रबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

अर्याल लामो समय अघिदेखि दम र प्रेसरको बिरामी भएकाले नियमित औषधि खाइरहेको परिवारले जनाएको छ । पछिल्लो एक महिना औषधि खान छाडेकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । अर्यालसहित ३ जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङको शव गृहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी खड्काले भने, ‘हिजोको घटना र आजको घटनामा कुनै सम्बन्ध छैन, एउटै गाउँमा भएकाले केही शंका र त्रासको भएको हुनसक्छ, यो एउटा संयोग मात्रै परेको हो ।’

यता बुधबार राती मृत्यु भएका २ जनाको भने घरेलु मदिराका कारण ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुवैजनाले एकै स्थानबाट लगिएको रक्सी सेवन गरेर सुतेकाले सोही रक्सीको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

१ महिनाअघि गाउँमा बिहे भएको र सोही बिहेमा खपत भएर बाँकी रहेको रक्सी बुधबार साँझ दुवैजनाले बोतलमा हालेर लगेका थिए । रक्सी खाएर सुतेका दुवैजनाको फरक फरक घरमा बुधबार राती मृत्यु भएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट गएको प्रहरी अनुसन्धान टोलीले घटनास्थलको जाँच मुचुल्का गरी शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याएको थियो । उनीहरुको पनि पोष्टमार्टम शुक्रबार साँझ नै गर्ने तयारी भइरहेको छ। डीएसपी खड्काले भने, ‘घटनास्थलमा त्यस्तो कुनै शंकास्पद वस्तु नभेटिएकाले उनीहरुको मृत्यु रक्सी सेवनबाटै हुनसक्ने आशंका छ ।

‘हामी अनुसन्धान गरिरहेका छौँ, ‘पोष्टमार्टमा पछि सबै विस्तृत थाहा हुने छ।’ उनीहरुले खाएर बाँकी रहेको भनिएको रक्सी परीक्षण गर्नका लागि प्रहरीले ल्याएको छ । रक्सीलाई प्रयोगशालामा परीक्षणका लागि पठाइने डीएसपी खड्काले बताए ।-अन्नपूर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्