News Portal

भारतमा कोरोना भाइरसको सुनामी आउनसक्ने विशेषज्ञको चेतावनी, ३० करोड मानिस उच्च जोखिममा

रातोपोस्ट संवाददाता
६६२ पटक

काठमाडौं। भारतमा कोरोना भाइरसको सुनामी आउन सक्ने एक विशेषज्ञले चेतावनी दिएका छन्। अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने उनको भनाई छ।
सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने जोखिममा अब भारत रहेको भन्दै तयारी अवस्थामा रहनुपर्ने बताएका छन्।

विश्वका १६८ देशमा देखिएको कोरोनाबाट ३ लाख मानिस संक्रमित छन्।

मर्नेको संख्या १३ हजार नाघेको छ। संसारभर तीव्र गतिमा बढिरहेको संक्रमण अब भारततर्फ आउन लागेको डा. रामाननको विश्लेषण छ।

भारतमा संक्रमणको संख्या ३ सय नाघेको छ। ६ जनाको मृत्यु भइसकेको छ। कर्नाटक, दिल्ली, महाराष्ट्र, लखनऊ र पंजाब धेरै प्रभावित छन्।

यस्तो बेला बीबीसी हिन्दीसँग कुरा गर्दै डा. रामाननले कोरोना भाइरसको ‘सुनामी’का लागि भारत तयार हुनुपर्ने बताएका हुन्।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्ने आकलन गर्दै उनले विश्वका अन्य मुलुकभन्दा संक्रमणदर कम हुने कुनै संकेत नदेखिएको बताए।

डा रामाननले भने, ‘हुनसक्छ हामी अन्य देशको तुलनामा केही पछाडि छौं।

तर, स्पेन र चीनमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमित भए त्यस्तो अवस्था यहाँ आउन सक्छ। केही हप्तामा हामी सुनामीका लागि तयारी अवस्थामा बस्नुपर्छ।’

विश्वमा कोरोनाको संक्रमणको दर धेरै देखाए पनि भारतमा जाँच नहुँदा कम देखाएको उनको विश्लेषण छ।

‘यदि हामीले धेरै मानिसको जाँच गरेको भए अझै धेरै संक्रमित देखिन्थे। तर, भारत मात्र होइन विश्वमै कोरोना जाँच एकदमै कम भइरहेको छ’, डा रामाननले भने।

आउने दुई/तीन दिनमा जाँचको संख्या बढ्ने र विरामीको संख्या पनि बढ्ने उनको भनाई छ। संक्रमित संख्या हजार नाघ्न सक्ने र यसका लागि तयार रहनुपर्नेमा उनको जोड छ।

चीनको उदाहरण दिँदै उनले भारतमा पनि जनघनत्वका कारण संक्रमण सजिलैसँग फैलिने बताए।

भारतमा कम्तीमा पनि २० प्रतिशत जनसंख्या कोरोनाबाट प्रभावित हुने र यो संख्यामा ३० करोड मानिस हुने डा रामाननको विश्लेषण छ।

अस्पतालको अवस्था कस्तो?

डा रामाननले हरेक पाँच जनामा एक व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको र ४० देखि ५० लाखसम्म नागरिकलाई गम्भीर स्थितिमा अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने बताए।

तर, भारतको स्वास्थ्य सेवा सक्षम नरहेको र राम्रो उपचार हुननसक्ने उनको भनाई छ। खासगरी ग्रामीण इलाका र जिल्लास्तरका अस्पतालको स्थिति खराब रहेको भन्दै यही स्थितिमा राम्रो उपचार हुन नसक्ने र संक्रमणबाट ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।

डा रामननले भने, ‘देशका सबै अस्पतालमा कुल ७० हजारदेखि एक लाखसम्म आईसीयू बेड होलान। जनसंख्याको हिसाबले यो एकदमै कम हो र चिन्ताको विषय हो।

हामीसँग तयारीका लागि धेरै समय छैन। जसरी चीनले सामना गर्‍यो, त्यो सबै हामीले गर्नुपर्ने जरुरी हुनसक्छ।

अस्थायी अस्पताल बनाउनुपर्छ। स्डेडियमलाई केही समयका लागि अस्पतालमा रुपान्तरण गर्न सकिन्छ। धेरैभन्दा धेरै भेन्टिलेटर तयारी अवस्थामा राख्नुपर्छ।’

डा रामाननले स्थितिलाई नियन्त्रणमा लिन भारतसँग अब तीन हप्ताजति समय रहेको सबै तयारी यहीँ समयमा गर्नुपर्ने बताए।

‘तपाईँहरु कल्पना गर्नुस त, हामी त्यो ठाउँमा छौँ जहाँबाट सुनामी आउँदै गरेको देखिरहेका छौं। यदि समयमै सतर्क भएनौँ भने हामी सुनामीको चपेटमा तहसनहस हुनेछौँ।’

यद्यपि डा रामाननले नआत्तिकन महामारीको सामना गर्न आम मानिसलाई आग्रह गरे। सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।

प्रतिकृया दिनुहोस्