News Portal

कोरोना प्रकोप : भारतद्वारा गरिब र मजदुरका लागि १७ खर्बको राहत प्याकेज घोषणा

रातोपोस्ट संवाददाता
६७२ पटक

नयाँदिल्ली । भारत सरकारले १७ खर्ब भारतीय रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ ।

भारतीय वित्तमन्त्री (अर्थमन्त्री) निर्मला सितारमणले बिहीबार लकडाउनबट प्रभावित गरिब, आप्रवासी मजदुर र विपन्‍न वर्गलाई उक्त राहत प्याकेज घोषणा गरिएको बताइएको हुन् ।

यस राहत प्याकेजको नाम प्रधानमन्त्री गरिब कल्याण स्किम राखिएको छ । अहिलेको कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरु, महामारी र सरसफाई कर्मचारीलाई प्रतिव्यक्ति ५० लाख बराबरको मेडिकल बिमा गरिने वित्तमन्त्री  सितारमणले जानकारी दिइन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिनका लागि राष्ट्रिय लकडाउन घोषणा गरेका थिए । उनले अहिलेको महामारीबाट बच्‍नका लागि सामाजिक दूरी आवश्यक हुनेभन्दै तीन साता लामो लकडाउनको घोषणा गरेका थिए । लकडाउनबाट गरिब र दैनिक मजदुरी गरेर पेट पाल्‍ने वर्ग निकै प्रभावित भएका थिए ।

‘प्रधानमन्त्री गरिब कल्याण योजना’ शीर्षकको उक्त विशेष प्याकेजअन्तर्गत हाल मासिक पाँच किलोदरले खाद्य अनुदान पाइरहेका ८० करोड गरिब परिवारले आगामी तीन महिनासम्म प्रत्येक महिना थप पाँच किलो चामल/पिठो र एक किलो दाल पनि पाउने भएका छन् ।

किसानहरुका लागि पनि विशेष प्याकेज घोषणा गरिएको छ । देशभरका ८.६९ करोड गरिब किसानहरुलाई लक्षित गर्दै प्रधानमन्त्री किसान योजनाअन्तर्गत मासिक दुई हजार रुपैयाँका दरले नगद अनुदान दिइने भएको छ ।

गरिबीको रेखामुनि रहेका ६० वर्षमाथिका ज्येष्ठ नागरिक, विधवा र फरक क्षमता भएका व्यक्तिले तीन महिनाका लागि थप एक हजार पाउनेछन् । सोझै उनीहरुको खातामा पैसा जम्मा हुनेछ ।

 

प्रतिकृया दिनुहोस्