News Portal

कोरोना भाइरस संक्रमित वुहानकी पहिलो महिला, कसरी लाग्यो कोभिड १९ ?

रातोपोस्ट संवाददाता
९१९ पटक

काठमाडौं: कोरोना भाइरसबाट पहिलो संक्रमित व्यक्ति महिला भएको र उनले जिउँदा झिंगेमाछा अर्थात प्राउन बेच्ने गरेको खुलासा भएको छ ।

चीनको हुबे प्रान्तस्थित वुहान शहरमा बस्ने वी गुइसियान नामकी ती महिला कोरोनाको महामारी फैलिएको स्थानबाट ५ सय मिटर नजिक भाडाको कोठामा बस्ने गर्थिन् ।

द वाल स्ट्रीट जर्नलका अनुसार उनी ५७ वर्षीय एक महिला हुन् ।

उनलाई डिसेम्बर ११ मा पहिलोपटक ज्वरो आएको थियो । उनले यसलाई सामान्य रुघाखोकी मानिन् ।

त्यसपछि उनी सानो क्लिनिकमा गएर खोप लिइन्, तर त्यसले तिनलाई निको बनाएन ।

त्यसको ५ दिनपछि उनी ठूलो अस्पतालमा पुगिन । जहाँ नयाँ रोग भएको तथ्य पत्ता लाग्यो ।

द वाल स्ट्रीट जर्नलले एक चुहिएको दस्तावेजलाई आधार बनाएर ती महिलाको भनाइ उदृत गर्दै लेखेको छ, ‘मलाई सधैं यही समयमा सामान्य रुघाखोकी लाग्ने गर्दथ्यो ।’ उनले यो भनाइ डाक्टरहरूसँग राखेकी थिइन् ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गत जनवरीमा कोरोना भाइरस तिनै महिलाले काम गर्ने ‘सी फूड होलसेल मार्केट’बाट मान्छेमा सरेको बताएको थियो ।

लीक भएको दस्तावेजलाई उदृत गर्दै द वाल स्ट्रीट जर्नल लेख्छ, ‘उनीसँग सम्पर्कमा रहने एक व्यापारीले उनी ज्वरो आएपनि निरन्तर काम गरिरहेको बताए ।’

ती महिलालाई निको नभएपछि दोस्रोपटक वुहानको एघारौँ अस्पताल पुगिन् । त्यहाँ पनि डाक्टरहरूले उनलाई के भएको हो भनेर पत्ता लगाउन सकेनन् । केही खाने औषधि लिएर उनी फर्किन । तर औषधिले पनि उनलाई निको भएन ।

त्यसपछि डिसेम्बर १६ मा उनी वुहानको सबैभन्दा ठूलो अस्पताल पुगिन् । अनि त्यहाँका डाक्टरहरू अचम्म भए । ती डाक्टरहरूसँग त्यस्तै लक्षण भएका हजारौं अरू बिरामी आइसकेका थिए ।

वी गुइसियान ती महिला थिइन्, जसलाई २७ जना अन्यसँगै परीक्षण गरिएको थियो र कोभिड १९ को संक्रमण भएको पुष्टि गरिएको थियो ।

तीमध्ये २४ जनाको हुनानसँग प्रत्यक्ष सम्पर्क थियो । एक अधिकारीले भनेका छन्, ‘त्यतिबेलासम्म उक्त भाइरस मान्छेबाट मान्छेमा सरेको प्रमाण थिएन ।’

चीनमा अहिलेसम्म पनि कोभिड १९ को पहिलो बिरामी को हो भन्ने रहस्य जिवितै छ ।

ती महिला अहिलेसम्म जिवितै छन् कि छैनन् भन्ने चाहिँ समाचारमा खुलाइएको छैन । डेली मेलबाट अनुवादित गरिएकाे

प्रतिकृया दिनुहोस्