News Portal

  • सरकार कोरोनाविरुद्ध तत्काल जनपक्षीय राहत घोषणा गर !

    झनक श्रेष्ठ
    ३०९ पटक

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    काठमाडौँ : आज नेपाल र विश्वका जनताहरु कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाइँ लडिरहेका छन् ।

    नेपाली जनतामा सरकारले घोषणा गरेको लकडाउनका छ दिन बितेका छन् तर लकडाउन पूर्ण रूपमा सफल भएको देखिँदैन । मुख्य सडक, सहरी क्षेत्रमा मात्र लकडाउन सफल भएको देखिन्छ । गाउँघर, सडक र टोलतिर लकडाउनको प्रभाव आंशिक रूपमा मात्र परेको विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरिरहेका छन् ।

    जनताले सरकारको आदेश अवज्ञा गर्नु भनेको सरकारप्रतिको विश्वास गुम्नु हो । जसरी आन्दोलनहरुमा जनताले सरकारको कफ्र्यु उल्लङ्घन गर्छन्, त्यसपछि सरकार वा सत्ता ढल्छ । सत्ताको अन्तिम बल कफ्र्यु पनि उल्लाङ्घन हुनु भनेको सरकारका सुरक्षाका सबै अङ्ग निष्प्रभाबी बन्नु हो ।

    यसको अर्थ जनताले लकडाउन उल्लङ्घन गरेर सबै ठीक गरे भन्न खोजेको होइन । जुन सरकारले देश र जनताका लागि केही पनि गर्न सक्तैन, उसलाई आदेश गर्ने हक पनि हुँदैन भनेर जनताले सरकारलाई असहयोग गरेका हुन सक्छन्, जनताले आफ्नो स्वास्थ्यका लागि पनि पूर्ण रूपमा सचेतना अपनाउनुपर्छ । यसमा दुईमत छैन ।

    दैनिक काम नगरी खान नपाउने जनताका लागि काममा पनि लकडाउन भएको छ । यसबाट उनीहरुको दैनिक रोजीरोटी समाप्त भएको छ । यो दुःखको कुरा हो । अर्को सामान्य मजदुरले यो बेला कसरी घर धान्न सक्छन् होला ? उनीहरूलाई आज कमायो, आजकै लागि हुन्छ । भोलिका लागि फेरि मजदुरी त गर्नैपर्छ । यसैगरी विदेशमा मजदुरी तथा अध्ययन गरी नेपाल फर्केका नेपाली नागरिकबाट अरू नेपाली नागरिकलाई कोरोना भाइरस (कोभिड १९) सर्न नदिनका लागि आधारभूत पूर्वतयारी पहिले नै गर्नुपथ्र्यो तर त्यो गर्नसकेन ।

    कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनका दिन बढेर जनता आतङ्कित हुन थालिसकेका छन् । यो बेला जनतालाई तत्काल राहत घोषणा गर्नुपर्ने बेलामा राहतको कुनै घोषणा गर्ने तयारी छैन । उल्टै विदेशबाट झिकाइएका स्वास्थ्य सामग्रीहरुमा करोडौँ कमिसन र भ्रष्टाचार भएका समाचारहरु आइरहेका छन् ।

    आफूलाई कम्युनिस्ट भनाउने सरकारले जनताहरुको माग सुन्नुपर्नेमा उल्टै भ्रष्टाचार ! सुन्न पनि गाह्रो हुने विषय जनताले सहनु परेको छ । यो सुनुवाइ हुँदैन ।

    जनताको उपचार, सहायता र तयारीमा व्यस्त हुनुपर्ने देशका प्रधानमन्त्री आफैँबिरामी छन् । उनी दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर आराम गरिरहेका छन् । कहिले मुटुको धड्कन त कहिले के बहानामा राज्यको सम्पत्ति दोहन गरी उपचारमै तल्लीन छन् । आफ्नै शरीरको चिन्ताले ग्रस्त प्रधानमन्त्रीले देशका लागि केही गर्छन् र सोच्छन् भन्ठान्नु ‘आफैँ त महादेव उत्तानो पर, कसले देला बर’ भनेजस्तै हो ।

    नेपाली शासकहरु आफू त केही जान्दैनन्, जान्दैनन्, अरुबाट पनि केही सिक्दैनन् । आफ्नै शैलीको ‘समाजवाद’ को प्रयोग गरिरहेको मुलुक चीनका राष्ट्रपति सी जिन पिङ कोरोना प्रभावित क्षेत्रमा पुगेर बिरामीहरुलाई भेट्दै आश्वासन दिन्छन् र घोषणा गर्छन्– हामी नेतृत्व गर्छौं, विश्वले साथ देओस्, कोरोना सङ्क्रमण नियन्त्रण सम्भव छ ।

    पूर्वसमाजवादी मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कोरोना सङ्क्रमित जनताका घरघरमा गएर स्वास्थ्य अवस्था बुझ्दै सान्त्वना दिइरहेका छन् । समाजवादी मुलुक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का नेता किम जोङ उन देशलाई कोरोनामुक्त घोषणा गरिरहेका छन् तर मेरो देशका प्रधानमन्त्री आफैँ आजीवन रोगले ग्रस्त छन् र कहिले के त कहिले त के रोगका लागि थलिएर उपचार गराइरहेका छन् ।

    राष्ट्रपतिलाई कोरोना सङ्क्रमण कुन जात हो, कुनै मतलबै छैन । यस्तो दलाल पुँजीवादी सत्ता र सामाजिक फासिवादी सरकार भएको देशमा कोरोना महामारीको उपचार त टाढैको कुरा, शवहरूको व्यवस्थापनसमेत हुने देखिँदैन ।

    यसको विकल्प खोजौँ । कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको बाटो रोजौँ । देश र जनताको वर्तमान र भविष्यको ग्यारेन्टी गरौँ ।

    प्रतिकृया दिनुहोस्