News Portal

वर्षमा १२ करोड ४० लाखको भन्सार छुट लिन्छ झापाको बिएन्डसी अस्पताल, झाडा पखाला लागेका बालकलाई गेटबाट फर्काइदियो

पत्रपत्रिका
८५६ पटक

झापाको अर्जुनधारा–११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विनलाई लामो समयदेखि ज्वरो आएको थियो । यो त्यतिवेलाको कुरा थियो, जतिवेला निजी अस्पतालले नाफाका लागि बिरामी तानातान गर्थे । लामो समय अस्पताल बसेपछि बालकको स्वास्थ्य सुधार भयो र उनलाई घर लगियो । तर, पछिल्लो समय बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍यायो । तर, डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो । ‘त्यहाँबाट फर्किएपछि हामीले बी एन्ड सी लग्यौँ । त्यहाँ त झन् गेटबाटै खेदयाे । पखाला लागेको छ र बच्चा सिकिस्त छ भनेर हारगुहार गर्दा पनि अस्पताल प्रशासनले भर्ना गर्न मानेन । बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘अहिले क्लिनिकबाट औषधी ल्याएर घरमै उपचार गरिरहेका छौँ । तर, संकटको वेला बालबालिकापट्टि सामान्य दया पनि नराख्ने अस्पताललाई सरकारले किन कारबाही गर्दैन ? हामीले जस्तै अरु कतिले दुःख पाए होलान् । सोचेर हामी चिन्तित छौँ ।’

 

देशमा कोरोनाको सन्त्रास बढेयता निजी अस्पतालले बिरामीलाई गेटबाटै फर्काउने गरेका छन् । छिमेकीको घरमा लड्दा कन्काई नगरपालिका–१ का चित्रबहादुर दर्जी (४०) अचेत भए ।  उनलाई पनि बिएन्डसी अस्पताल लगिएको थियो । तर, बिरामी अचेत छन् भनेर याचना गर्दा पनि अस्पतालले गेट खोल्न मानेन । उनका आफन्त गेटमै विलखबन्दमा थिए । कतिसम्म भने मेची अस्पतालले समेत उनीहरूको पीडा सुनेन ।

त्यसैगरी, पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकका २० वर्षीय दामोदर कुमाल अस्पतालले उपचार नगरिदिएपछि दुई दिनदेखि घरमै थलिएर बसेका छन् । आइतबार उनलाई एक्कासि ज्वरो आयो । परिवार आत्तिए, किनभने ९ चैतमा मात्रै उनी भारतबाट घर फर्किएका थिए । उनकी आमाले बगनासकाली स्वास्थ्य संयोजक मनिराम अधिकारीलाई जानकारी गराएर छोराको उपचारमा सहयोग गर्न भनिन् ।

अधिकारीले तानसेनको युनाइटेड मिसन अस्पतालमा फोन गरे । तर, अस्पतालले ज्वरो आएको बिरामीलाई ल्याउँदै नल्याउन भन्यो । अधिकारीले भने, ‘मैले अस्पतालमा फोन लगाएँ, ज्वरोको बिरामी ल्याउन लागेको बताएँ । तर, यहाँ ल्याउँदै नल्याउनु, हामी हेर्न सक्दैनौँ भन्ने जवाफ दिए ।’

परिवार झन् आत्तियो । त्यसपछि एम्बुलेन्समा तानसेनकै लुम्बिनी मेडिकल कलेज पुर्‍याए । अस्पतालपरिसर पुगेपछि आमा सावित्रा एम्बुलेन्सबाट झरेर सीधै इमर्जेन्सीमा पुगिन् । नर्सलाई छोराको समस्या सुनाइन् । तर, त्यहाँ पनि व्यवहार राम्रो भएन । ‘होइन, होइन बिरामीलाई एम्बुलेन्सबाट झार्दै नझार्नुस् । हामी बाहिरै हेर्छौँ,’ नर्सको भनाइ उद्धृत गर्दै सावित्राले नयाँ पत्रिकासँग भनिन् ।

त्यसपछि एम्बुलेन्सको पछाडिको ढोका खोलेर टाढैबाट थर्मल गनले दामोदरको ज्वरो नापियो । नर्सले केही औषधि आमाको हातमा थमाइदिइन् र तत्काल फर्किन भनिन् । अस्पतालमा भोगेको अपमान सम्झिँदै सावित्राले भनिन्, ‘छोराले पिसाब लाग्यो भन्दा पनि झर्न दिएनन् । पछि चालकले जंगलतिर पुगेपछि एम्बुलेन्स रोकिदिए ।’

नयाँ पत्रिकाले बिरामीमाथि भएको अपहेलनाबारे जिज्ञाशा राख्दा मेडिकल कलेज निर्देशक डा. राजु शाक्यले अस्पतालभित्रै लगेर डाक्टरले बिरामी जाँचेको दाबी गरेका थिए । तर, नयाँ पत्रिकाको अनलाइन संस्करणमा समाचार छापिएपछि सिडिओ र जिल्लाका सांसदले अस्पतालको व्यवहारको आलोचना गरेका थिए । त्यसपछि निर्देशक शाक्यले गल्ती स्विकारेका छन् । ‘मलाई गलत रिपोर्टिङ भएको रहेछ, गल्ती भयो म माफी माग्छु,’ उनले भने ।

अस्पतालबाट फर्काइएका दामोदर भने घरमै छन् । स्थानीय तहले पनि उनको स्वास्थ्यमा चासो दिएको छैन । परिवार कोरोना संक्रमण छ कि भनेर आत्तिरहेका छन् । दामोदरबारे वडाध्यक्षलाई बुझ्न लगाएको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए ।

चितवनको भरतपुर–१६ विजयनगरकी लीला तामाङलाई गत बिहीबार राति एक्कासि चाप्यो । ज्वरो आउने र छाती दुख्ने भयो । साथमै थिइन्, दिदी नीरा । तर, नीराले बहिनीलाई अस्पताल लैजान सकिनन् । उनले ‘समस्या परे फोन गर्नु भनेर’ चितवनका १० चिकित्सकको मोबाइल नम्बर सार्वजनिक गरेको पनि थाहा थियो । ती नम्बरमा फोन लगाइन् । तर, उठेन । एम्बुलेन्सलाई फोन लगाइन्, उठ्यो, तर बिरामी लिन आउन मानेनन् ।

शुक्रबार बिहानै उनले स्कुटरमै राखेर बहिनीलाई नारायणी सामुदायिक अस्पताल पुर्‍याइन् । तर, अस्पतालले डाक्टर छैन भनेर फर्काइदियो । त्यसपछि कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) पुर्‍याइन् । तर, त्यहाँ पनि ज्वरोका बिरामीको उपचार हुँदैन भनेर फर्काइदिए । आत्तिएकी नीराले बहिनीलाई भरतपुर सरकारी अस्पतालतिर दौडाइन् । अस्पतालले ‘इक्विपमेन्ट’ छैन भन्दै फेरि निराश बनाइदियो ।

तीनवटा ठूला अस्पताल चहारेर थकित उनलाई भरतपुर अस्पतालले ‘कोरोना अस्थायी अस्पताल’ लैजान भन्यो । त्यहीँ लगिन् । अस्पतालले सामान्य सोधपुछ गरेर ग्यास्ट्रिकको औषधि दिएर पठाइदिएको नीराले बताइन् ।

लीला २० फागुनमा अस्ट्रेलियाबाट आएकी थिइन् । त्यसैले ज्वरो आउँदा परिवारलाई कोरोना हो कि भन्ने डर छ । सोचेअनुसार उपचार नपाएपछि उनले मिडियामार्फत सार्वजनिक गरिन् । त्यसपछि कोरोना अस्पतालमै उनको राम्रोसँग उपचार भयो । अहिले लीलाको स्वास्थ्य ठीक भएको दिदी नीराले बताइन् ।

भरतपुर–२७ तेलौलीका युवराज महतोले पनि उपचारमा सास्ती पाएका छन् । भारतबाट आएको पाँच दिनमा अत्यधिक ज्वरो आएपछि उनलाई १४ चैतको राति स्थानीयले एम्बुलेन्स खोजेर श्रीमतीको साथमा अस्पताल पठाइदिएका थिए ।

भरतपुर मेडिकल कलेज पुगेका युवराजलाई चिकित्सकले चेकजाँच नै गरेनन् । कोरोना अस्पताल जान भनेर फर्काइदिए । तर, महतो कोरोना अस्पताल पत्ता लगाउन नसकेपछि राति नै घर फर्किए । भरतपुरबाट २४ किलोमिटर टाढाको घर उनी रातभर हिँडेर फर्किए । छिमेकी लालकृष्ण भण्डारीका अनुसार अहिले युवराज होम क्वारेन्टाइनमा छन् । उनी स्थानीय चिकित्सकले दिएको औषधि नियमित खाइरहेका छन् ।

नवलपरासीको रामग्राम नगरपालिका–१६ हुकुईका ३५ वर्षीय युवाले पनि अस्पतालले उपचार गर्न नमानेर निकै सास्ती खेप्नुप¥यो । खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने भएपछि परिवारले उनलाई चितवनदेखि बुटवल हुँदै काठमाडौंबाट फेरि बुटवलसम्म फन्को लगाउनुपर्‍यो ।

चैत पहिलो साता उनले सुरुमा परासीकै एक निजी अस्पतालमा उपचार गराएका थिए । त्यसपछि पृथ्वीचन्द्र जिल्ला अस्पताल पुगे । अस्पतालले प्रादेशिक अस्पताल बुटवल पठाइदियो । बुटवलले कोरोनाको आशंका भन्दै पुरानो मेडिकल कलेज चितवन पठायो । तर, उक्त अस्पतालले पनि भर्ना नगरी बिरामीलई काठमाडौं पठाइदियो ।

काठमाडौंको कलंकीस्थित एक निजी अस्पतालले शंकास्पद देखेपछि उनलाई टेकु पठाएको बिरामीका आफन्तले बताए । बिरामीको अवस्था जटिल बन्दै गएको र कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि आफन्तले आस मारेर पुनः घर ल्याएका थिए । घर ल्याउने क्रममा बिरामीका आफन्तले पुनः पृथ्वीचन्द्र अस्पताल परासीमा लगे । एम्बुलेन्समा ल्याएका बिरामीलाई चिकित्सकले छुनसमेत नमानेको आफन्तको गुनासो छ ।

जिल्ला अस्पतालमा आइसोलेसन वार्ड छ । तर, चिकित्सकले उपचारका क्रममा लगाउने पोसाक र अन्य सामग्री नभएको र रोग सर्ने भन्दै बिरामीलाई नहेर्ने जनाएपछि प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बुटवल अस्पतालसँग समन्वय गरेका थिए । चिकित्सकले बिरामीको उपचार नगराएको भन्दै सञ्चारमाध्यममा समाचार आएपछि प्रदेश ५ को मुख्यमन्त्री कार्यालयले चासो दियो । चार दिनको कष्टप्रद दौडधुपपछि बिरामीले अस्पताल पाए । बुटवलस्थित प्रादेशिक अस्पतालमा भर्ना भयो ।

हाल आइसोलेसन वार्डमा राखेर उनको उपचार भइरहेको छ । कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कडा निमोनिया देखिएको र डिस्चार्ज हुन केही दिन लाग्ने अस्पतालले जनाएको छ ।

जनकपुर–१६ कपिलेश्वरका २२ वर्षीय हकिकत अलि खान ज्वरो आएपछि धनुषा अस्पताल गए । तर, अस्पताल सञ्चालक डा. रामबाबु जैसवालले नै उपचार गर्न नसक्ने भन्दै फर्काइदिए । जैसवालले प्रादेशिक अस्पताल जान भनेपछि हकिकत खुरुखुरु त्यतै गए ।

जनकपुरका सबै निजी अस्पतालले ज्वरोका बिरामीलाई गेटबाटै सरकारी अस्पताल पठाइदिने गरेका छन् । ती अस्पतालले उपकरण नभएको बहाना बनाउने गरेका छन् । प्रादेशिक अस्पतालले पनि ज्वरोका बिरामी नलिएपछि समस्या परेको थियो ।

आइतबारदेखि भने प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीको उपचार हुन थालेको छ । सामाजिक विकास मन्त्रालयले चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएपछि उपचार सुरु गरेको हो । नयाँपत्रिका

प्रतिकृया दिनुहोस्