News Portal

कामदार फिर्ता लैजान खाडी मुलुकको दबाब, नेपालले जवाफ दिएन

पत्रपत्रिका
१५०२ पटक

कुवेतले दियो आममाफीको अवसर, कामदार फिर्ता नलगे युएईले श्रमसम्झौतामा पुनर्विचार गर्ने

वैदेशिक रोजगारीमा गएका कामदार फिर्ता गर्न विभिन्न मुलुकले दिएको दबाबलाई नेपाल सरकारले बेवास्ता गरेको छ । अन्य मुलुकहरूले आफ्ना कामदार फिर्ता लैजाने प्रक्रिया अगाडि बढाए पनि नेपाल भने छलफलकै चरणमा छ ।  कोरोनाको संक्रमणबाट जोगिन कुवेतले गैरकानुनी आप्रवासी कामदारलाई आममाफीमार्फत फिर्ता गर्न सूचना जारी गरेर आवेदन मागेको छ । त्यस्तै, युएई (युनाइटेड अरब इमिरेट्स)को मानव संसाधन तथा इमिरेटिजेसन मन्त्रालयले आप्रवासी कामदारलाई फिर्ता लैजान सम्बन्धित मुलुकलाई सूचित गरेको छ । त्यस्तैै, माल्दिभ्सले बन्द भएका होटेलका आप्रवासी कामदारलाई निश्चित पारिश्रमिक र फिर्ता टिकटको समेत व्यवस्था गरिदिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

आममाफीसहित फिर्ता हुन आवेदन दिने कामदारलाई कुवेतले आफ्नै खर्चमा विमान चार्टर्ड गरी सम्बन्धित मुलुक पठाउने तयारी गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुजन केसीले बताए । कुवेतले कामदारलाई फेरि आउन पाउने गरी माफी दिएको उनले बताए । सामान्य अवस्थामा कुवेत सरकारले यस्तो खालको आममाफी दिँदैन । केसीकाअनुसार कुवेतमा करिब ४ हजार गैरकानुनी नेपाली कामदार छन् भने ७० देखि ७२ हजार नेपाली श्रमिक छन् । जसमध्ये १० हजारभन्दा बढी कामदार नेपाल फर्किन इच्छुक छन् ।

कुवेतले १ देखि ३० अप्रिलसम्म आममाफीको घोषणा गरेको हो । पहिलो चरणमा १ देखि ५ तारिखसम्म फिलिपिन्सका गैरकानुनी कामदारलाई स्वदेश फर्किन फाराम भर्ने अवसर दिएको थियो ।

दोस्रो चरणमा इजिप्टका कामदारलाई यस्तो अवसर दिएको थियो । अहिले बंगलादेशका कामदारलाई फाराम भर्ने अवसर दिएको छ । अप्रिल २६ देखि ३० तारिखसम्म नेपालसहित अन्य मुलुकका कामदारले फाराम भर्न पाउनेछन् ।

स्वदेश फर्कन युएईका ५ हजार कामदारले दिए आवेदन

युएई सरकारले सम्बन्धित मुलुकहरूलाई आफ्ना कामदार फिर्ता लैजान आग्रह गरेको छ । बेतलबी बिदामा रहेका र घर फर्कन इच्छुक कामदारलाई फिर्ता लैजान उसको दबाब छ । फिर्ता नलैजाने मुलुकको श्रम सम्झौता पुनर्विचार गर्नेबारे युएईले अध्ययन गरिरहेको जनाएको छ ।

कतारस्थित गैरआवासीय नेपाली संघको अध्ययनअनुसारआइतबारसम्म युएईमा रहेका ५ हजारभन्दा बढी कामदारले स्वदेश फर्किन आवेदन दिएका छन् । संघका अध्यक्ष प्रकाश कोइरालाले आवेदन दिनेको संख्या बढ्दो रहेको बताए । आवेदन दिनेमध्ये ६० प्रतिशत दुबई, २४ प्रतिशत आबुधाबी र ९ प्रतिशत सारजाहमा रहेका कामदार छन् । संघले युएईको आबुधाबी, दुबई, सारजाह, अजमान, रसअल खेमा, फुजेरा र उम अल ब्वेन गरी सातैवटा प्रदेशमा अध्ययन गरेको थियो ।

युएईमा रहेकामध्ये करिब ३६ प्रतिशत कामदार बेतलबी बिदामा छन् । २४ प्रतिशत कामदारले काम गर्दै छन् । २० प्रतिशत कामदारको रेसिडेन्स भिसा क्यान्सिल भएको छ । करिब ११ प्रतिशतको भिजिट भिसा सकिएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार युएईमा ३ लाख ५० हजार नेपाली श्रमिक छन् । गैरआवासीय नेपाली संघले भने ४ लाखको हाराहारीमा नेपाली श्रमिक रहेको जनाएको छ ।

माल्दिभ्सका पाँच हजार नेपाली कामदार नेपाल फर्किन इच्छुक

माल्दिभ्समा रहेका नेपाली कामदारमध्ये करिब ५ हजार स्वदेश फर्किन इच्छुक छन् । कोरोना भाइरसका कारण होटेलहरू बन्द भएपछि रोजगारदाताले आप्रवासी श्रमिकलाई तीनदेखि पाँच महिनासम्मको बिदा दिएको छ । केही रोजगारदाताले २५ प्रतिशत तथा केहीले ५० प्रतिशत बिदा अवधिको पारिश्रमिक दिएका छन् । यसका साथै माल्दिभ्स सरकारले आप्रवासी कामदारलाई निश्चित प्रतिशत पारिश्रमिकका साथमा फिर्ता टिकटसमेत दिएको जे मानोफारु रिसोर्टका सेफ मनोज पौडेलले बताए । उनका अनुसार माल्दिभ्समा करिब १५ हजार नेपाली कामदार छन् । ‘करिब ५ हजार नेपाली कामदारले रोजगारदाताबाट नेपाल फर्किने टिकटसमेत पाएका छन्,’ उनले भने ।

माल्दिभ्समा ४ हजार घरेलु कामदार छन् । सरकारले लकडाउन गरेपछि अधिकांश होटेलहरू बन्द भएका छन् । रोजगारदाताले १ अप्रिलदेखि प्योकजसहित बिदा दिएको पौडेलले बताए । तर, माल्दिभ्समा नेपाली दूतावास र कुनै सरकारी प्रतिनिधि नभएका कारण कामदार अन्योलमा परेको उनले बताए ।

दूतावासलाई छैन चासो

कामदार फिर्ता गर्न सम्बन्धित मुलुकहरूले दबाब दिए पनि नेपाली दूतावासले भने चासो देखाएका छैनन् । कामदार फिर्ता गर्ने विषयमा दूतावासले कुनै तयारी समेत गरेको छैन् । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले गैरकानुनी रूपमा रहेका नेपाली श्रमिकलाई फिर्ता पठाउने विषयमा सामान्य छलफल मात्रै भएको बताए । नेपालमा पनि लकडाउन भएकाले फिर्ता गर्न सहज नहुने उनको भनाइ छ । यद्यपि, नेपालको पालो आउन बाँकी रहेकाले दुवैतर्फ छलफल भइरहेको भण्डारीले बताए । त्यस्तै, युएईस्थित नेपाली दूतावासका राजदूूत कृष्णप्रसाद ढकालले युएई सरकारले गरेको निर्णयको औपचारिक जानकारी नभएको बताए ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावास नेपाली श्रमिकको सम्पर्कमा रहनुपर्ने वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले बताए । ‘दूतावासले श्रमिकको अवस्थाबारे साप्ताहिक तथ्यांक तयार पार्नुपर्छ । श्रमिक अहिले जहाँ छन्, त्यहाँ नै सुरक्षित रहने व्यवस्था गर्नुपर्छ,’ उनले भने । लकडाउन खुलेपछि श्रमिक पहिलेकै रोजगारीमा स्थापित गराउन राजदूतावासले पहल गर्नुपर्ने गुरुङले बताए । सरकारलाई श्रमिकको विषयमा रिपोर्ट गरिरहेको पनि उनले बताए । ‘ठिक समयमा सरकारले उपयुक्त र व्यावहारिक निर्णय गर्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

कोरोना संक्रमणका कारण १४ नेपालीको विदेशमै मृत्यु

कोरोनाको संक्रमणबाट विदेशमा रहेका  १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तथ्यांकअनुसार गत शनिबारसम्म बेलायतमा ८, अमेरिकामा ५ र युएईमा १ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ६ सय ६५ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाबाट प्राप्त जानकारीअनुसार एनआरएनएले सो तथ्यांक तयार पारेको हो । अमेरिकामा ५ सयभन्दा बढी नेपाली संक्रमित भएका छन् । बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अस्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापान, मलेसियामा, म्यानमार र हङकङमा एक/एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

एनआरएनएको सर्वेक्षण : विदेशमा रहेका ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने चाहना

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत आइतबारदेखि एनआरएनएले सुरु गरेको २४सै घन्टा हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको बताएका हुन् । त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रहसमेत गरेका छन् । हटलाइनमा प्राप्त सूचनाअनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् । यहाँ आएर अडकिएका ११ प्रतिशत एनआरएनले विदेश जाने आवश्यक प्रक्रिया मिलाइदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

८१ देशमा सञ्जाल फैलिएको एनआरएनएले कोरोना भाइरसका कारण विश्वभर रहेका नेपाली समस्यामा परेको जनाएको छ । रोजगारी र अध्ययनका सिलसिलामा ५० लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोन कलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको छ । त्यहाँ रहेका अधिकांश नेपालीको स्वदेश फर्किने चाहना छ । मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जान तयारी अवस्थामा छन् ।  शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिभावक धेरै चिन्तित छन् । तीमध्ये धेरैले विदेशमा रहेका छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसका लागि सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतमा १५ लाख, चीनमा ८ हजार, जापानमा १ लाख, अमेरिकामा २ लाख, क्यानडामा १५ हजार, इटालीमा ५ हजार, जर्मनीमा १५ हजार, पोर्चुगलमा ५ हजार, फ्रान्समा ५ हजार, बेलायतमा १ लाख ५० हजार, ओमानमा १७ हजार, इराकमा १५ हजार, मलेसियामा ७ लाख, अस्ट्रेलिया १ लाख, स्पेनमा १५ हजार, बहराइनमा ३५ हजार, थाइल्यान्डमा ५ हजार, कुवेतमा ७० हजार, हङकङमा १५ हजार, सिंगापुरमा ५ हजार, दक्षिण कोरियामा ४२ हजार, इजरायलमा १२ हजार, नर्वेमा १ हजार, अस्ट्रियामा १५ सय, स्विडेनमा १ हजार, इरानमा २५ जना रहेको औपचारिक तथ्यांक छ । अनौपचारिक रूपमा धेरै नेपाली विदेशमा रहेकाले यकिन तथ्यांक निकाल्न मुस्किल रहेको शर्माले बताए ।

प्रतिकृया दिनुहोस्