News Portal

काेराेना भाइरस:सन २०२२ सम्म सामाजिक दुरी कायम गर्नुपर्ने ।

रातोपोस्ट संवाददाता
१२३६ पटक

एजेन्सी ।COVID-19 काेराेना (भाइरस)का कारण यतिबेला विश्व मानवजगत त्रसित भैरहेका बेला यसको  संक्रमणको खतराबाट बच्न सन् २०२२ सम्म सामाजिक दूरी कायम गर्नुपर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ। अमेरिकाको हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अध्ययनले कोविड संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो।

विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोविडको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ।

विश्वभर सबैजसो देशमा पुगिसकेको कोविडलाई विश्वभरबाटै निर्मूल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिए पनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरूले अनुमान गरेका छन्।

अनुसन्धानताले कोविडविरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दूरी कायम गर्नैपर्नेमा जोड दिएका छन्।

‘सामाजिक दूरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो’, अनुसन्धाताले अध्ययन प्रतिवेदनमा लेखेका छन्।

उनीहरूले उच्च सतर्कतासहितको उपचार सेवालाई सबै देशले थप विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। अध्येताले सन् २०२४ सम्म मात्र कोविडविरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन्।

विश्वभर दर्जनौँ वैज्ञानिकले खोप तयार पार्न परीक्षण र प्रयास जारी राखेका छन्।

कोविडका कारण बुधवारसम्म संसारभर २० लाख २६ हजार ९३८ जना संक्रमित भएका छन् भने १ लाख २९ हजार १ सयजनाको मृत्यु भएको छ।यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ। मृत्यु हुने र संक्रमित हुनेहरू सबैभन्दा धेरै अमेरिकामा रहेका छन्।

प्रतिकृया दिनुहोस्