News Portal

ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरे

एजेन्सी
५५६ पटक

काठमाण्डौ। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्य मन्त्री लुइज ह्यानरिक मनडेटालाई बर्खास्त गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउन खोल्ने विषयमा मतभेद भएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्री मनडेटालाई नै बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य मन्त्री मनडेटा लकडाउन अझै कायम राख्नुपर्ने पक्षमा छन् । तर लकडाउनले अर्थतन्त्रमा असर पर्ने भन्दै राष्ट्रपति बोलसोनारोले बिना कुनै डर मानिसलाई काममा फर्कनुपर्नेमा जोड दिँदै आएका छन् ।

यसअघि राष्ट्रपति बोलसोनारोले कोरोना भाइरसलाई सामान्य फ्लुको संज्ञा दिएका छन् ।

स्वास्थ्य मन्त्री मनडेटाले सामाजिक सञ्जाल ट्विटरमा आफू बर्खास्त भएको जानकारी दिँदै समयमै सम्हालिन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको खबर सार्वजनिक भएलगत्तै सर्वसाधारणले आफ्नो घरको बार्दलीमा निस्किएर भाँडा बजाएर राष्ट्रपतिको निर्णयको विरोध गरेका छन् ।

ब्राजिलमा अहिलेसम्म ३० हजारभन्दा धेरैमा सङ्क्रमण भएको तथा १९ सयभन्दा धेरैको ज्यान गएको जोन हप्किन्स् युनिभर्सिटीले जनाएको छ ।

स्वास्थ्य मन्त्री मनडेटाले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा भाइरस फैलिन नदिन सरकार एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनको यो अभिव्यक्तिलाई राष्ट्रपतिको आलोचनाको रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्