News Portal

  • यसपटक बुहारी गाउँ आईन-खेम आचार्य

    रातोपोस्ट
    १०३२ पटक

    यस पटक बुहारी गाउँ आइन
    **********************

    यस पटक बुहारी
    शहर छाडिन र गाउँ आइन
    रहर थियो उनको या कहर !
    जे भए पनि उनी आइन
    बुहारी गाउँ आउँदा
    हामी भन्दा बढी
    छिमेकीहरु दङ्ग छन ।
    हरेक दिन र हरेक दृश्य
    फिल्म जस्तै महशुस गर्दैछिन उनी
    केही सुखान्त अनि केही दु:खान्त
    केहि सम्योगान्त जस्तै
    र केही वियोगान्त जस्तै
    यी सबै पलहरु उनको अनुहारमा
    सजिलै पढ्न सक्छ हाम्रो अनुभवले ।

    सानो तिनो बाहिरको काम
    बाध्यताको फिस्स हाँसो
    लत्पतिएको गाजल
    नाकको टुप्पो हुँदै भुइँ तर्फको
    पसिनाको यात्रा
    मिहिनेतले पालेका (हुर्काएका)
    नङ भरी माटो
    उतै छुटेको मोइश्चराइजर
    यता आएपछी
    फुट्न शुरु गरेका कुर्कुच्चा
    हतारमा उतै छोडिएको
    परफ्यूम/बडी स्प्रे
    पसिनाको गन्ध
    यति हुनुको बाबजुद !
    मोरो ऐना !
    घरी घरी जिस्काउँछ बुहारीलाई
    उनले जे गर्छिन त्यसै गर्दै जिस्किन्छ ।
    खोइ किन हो कुन्नी ? बुहारी पनि
    हामीसँग भन्दा बढी
    उसै(ऐना)सँग रमाउँछिन ।

    पहिला पहिला १५ दिनमा
    एक पटक फोन गर्ने छोराले
    आजकल दिनक्कै ६/७ चोटि फोन गर्छ
    साझ पख एक चोटि त हामीसँग नि कुरा गर्छ
    तपाईंलाई कस्तो छ बा ! आमा ! भन्दैन
    उनले गाह्रो त मानेकि छैनन नि ! भन्छ
    आत्तिनु भयो कि तपाईंहरु भन्दैन
    उनी आत्तिएकी त छैनन नि ! भन्छ
    ख्याल गर होइ बा-आमाको भन्छ कि भन्यो
    उल्टै ख्याल गर्नु है उनको भन्छ ।
    जे भए नि फोन गर्छ
    छोराको फोन मात्रै आए नि !
    सन्तोष हुन्छ
    जब उसको फोन आउछ
    उजेली देखिन्छिन बुहारी
    लाग्छ पूर्णिमा आजै हो ।

    यसपाली बुहारीले
    यूट्युबबाट नभएर प्रत्यक्ष
    दूध दुहेको हेरेकि छन
    गोबर फालेको देखेकीछन
    मकै गोडेका खेतालालाई
    खाजा पुर्याएकी छन्
    बारिमा गहुँ फलेको देखेकी छन
    आफ्नै पसिनाको गन्ध सुँघेकी छन
    खेत जोतेको देखिन
    वारी खनेको देखिन
    धान कुटेर चामल बनाएको देखिन
    चापा कलबाट पानी झिकिन
    जुठेल्नो देखिन
    खरानीले भाडा मस्काइन
    गोबरले चुल्हो लोटाइन र
    सर्लक्क नभए नि !
    लिपिन ।

    बुहारी हुन्
    तर छोरी जस्तै लाग्छ
    केही देखेर जानिन उनले /केही गरेर जानिन
    खासै काम नगरे पनि
    हामीलाई सघाउन नसके पनि
    अप्ठ्यारोमा घर आइन
    घरलाई आफ्नो ठानिन
    यसपाली असाध्यै खुशी भएका छौं
    हामी दुई बुढा-बुढी ।
    शहर फर्के पछि बुहारीले,
    ड्याडिको ड्याडी, ड्याडिको ममी होइन
    हजुरबा हजुरआमा भन्न सिकाउनेछिन
    दूध डेरीले होइन, गाई भैसीले दिन्छन
    चामल फल्दैन, धान फल्छ
    चाउचाउको रुख हुदैन
    अन्नबाली फ्याक्ट्रीमा होइन
    माटोमा उत्पादन हुन्छ्न
    आदि इत्यादि यस्तै यस्तै कुराहरू
    नाति नातिनालाई
    सिकाउनेछिन/बुझाउनेछिन
    र उनीहरुलाई गाउँ जाऊँ जाऊँ बनाउनेछिन
    लोकल पर्यटक जसरी नै सहि
    नाति नातिना गाउँ आउँनेछन ।
    पालै पालो काखमा बसेर
    गिलास भरी भरी
    दूध पिउनेछन/दही पिउनेछन
    उनीहरुले
    हामी बुढाबुढी अत्याड मेटिने गरि
    उनीहरुलाई हेरिरहनेछौ ।
    *********
    खेम आचार्य
    चितवन
    (२०७७/०१/०४)

    प्रतिकृया दिनुहोस्