News Portal

झापामा दोस्रो चरणको राहत बाँड्ने तयारी

अम्बिका भण्डारी
५९६ पटक

झापा । झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् ।

पन्ध्र वटा स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका विपन्न समुदायलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले दोस्रो चरणको राहत वितरणका लागि एक लाख २० केजी चामल, १० हजार केजी दाल, ४ हजार लिटर तेल र ४ हजार केजी नुनको बोलपत्र आह्वान गरिसकेको बताए । उनका अनुसार अब चार हजार परिवारलाई राहत वितरण गरिनेछ ।

गौरादह नगरपालिकाले पहिलो चरणमा तीन हजार २०५ परिवारलाई राहत रु १५ लाख बढीको खाद्यान्न, नुन, तेल र दाल वितरण गरेको थियो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बन्दाबन्दी लम्बिएकाले नगर कोषबाट पुनः राहत वितरणको तयारी गरिएको बताइन् । दाताहरुबाट समेत सहयोग आइरहेको उनले जानकारी दिइन् ।

शिवसतासी नगरपालिकाले यस अघि पहिलो चरणमा एक हजार २१२ परिवारलाई १९ हजार ३६ केजी चामल, एक हजार १७३ केजी दाल, ६२४ लिटर तेल र एक हजार १७३ केजी चामल वितरण गरेको थियो ।

कनकाई नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि ६० हजार केजी चामल, सात हजार केजी दाल, पाँच हजार लिटर तेल, सात हजार केजी नुन र सात हजार साबुनको बोलपत्र आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए ।

कनकाईले पहिलो चरणमा एक हजार ८८२ घरघुरीका आठ हजार ४६९ परिवारलाई २४ हजार ५६० केजी चामल, एक हजार ८१४ केजी दाल, एक हजार ६०६ लिटर तेल र एक हजार ३८८ केजी नुन वितरण गरेको थियो ।

मेची नगरपालिकामा विहीवार भएको सर्वदलीय बैठकले दोस्रो चरणको राहत वितरणका लागि नगरलाई आग्रह गरेको छ । नगरमा मेची अभियान लगायतका सामाजिक संस्थाहरुले संकलन गरेका सहयोग नगरपालिकामा बुझाएका छन् ।

झापामा पहिलो चरणमा ३९ हजार ३६१ घरघुरीका एक लाख ६० हजार ४१३ व्यक्तिलाई सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन वितरण गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्