News Portal

कोरोना संक्रमित उदयपुरका १२ जना अस्पताल भर्ना, थप योजना बनाउन बैठक बस्दै

रातोपोस्ट संवाददाता
५५१ पटक

काठमाडौं। उदयपुरका १२ जनालाई कोभिड-१९ देखिएका विराटनगरस्थित कोशी अस्पतालको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ। उनीहरूलाई राति १२ बजे अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय कोरोना सूचना केन्द्रले जनाएको छ।

त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय र केही नेपालीहरूसमेत १२ जनामा हिजो कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। ३४, २९, २६, २२, २५, २०, ४०, २९ र चारजना २८ वर्षीय पुरुषमा कोभिड-१९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थ्रोट स्वाबको नमूना पोजिटिभ देखिएको सूचना पुगेपछि गएराति ४ वटा एम्बुलेन्सबाट उनीहरूलाई विराटनगर लगिएको हो।

मस्जिदमा रहेका अन्य चारजनालाई पनि एम्बुलेन्सबाट चिकित्सकको निगरानी र थप परीक्षणको लागि विराटनगर पुर्‍याइएको छ। राति ११ बजे अस्पताल पुर्‍याइएका उनीहरूलाई अस्पतालले आवश्यक प्रक्रिया पुर्‍याएर भर्ना गरेको छ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले प्रहरीले संक्रमित फेला परेको भुल्के र आसपासको क्षेत्रलाई सिल गरेर आवतजावत ठप्प पारेको जानकारी दिए।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी परीक्षणको दायरा बढाउने र अबको योजना तय गर्न बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक डाकिएको छ।

“मैले प्रदेश सरकारसँग समन्वय गरिरहेको छु। विराटनगरबाट परीक्षणको लागि आवश्यक उपकरणसहित प्राविधिक टोली पठाउने कुरा भएको छ। बैठकबाट रणनीति तय गर्नेछौं”, सुवेदीले बताए।

प्रतिकृया दिनुहोस्