
काठमाण्डौ। कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएको छिन् । घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको सङ्क्रमण हुँदा डर लाग्ने भए पनि नआत्तिन आग्रह गरिन ।
उनले भनिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ तर नआत्तिनुस्, सजग भएर उपचार गराइयो भने कोरोनाको सङ्क्रमण निको हुन्छ ।ʼ
उनलाई गएको चैत ९ गते टेकु अस्पतालमा भर्ना गरिएको थियो । विदेशबाट फर्किएकाले आफू अस्पतालमा परीक्षणका लागि पुगेको उनले बताइन ।
‘अस्पताल आउँदा त्यति धेरै असजिलो भएको थिएन, थाेरै असजिलो महसुस भएर परीक्षण गराउन टेकु अस्पताल गएको थिएँ, पोजेटिभ देखियो अनि अस्पतालमा भर्ना भएँʼ, उनले भनिन ।
समयमा नै अस्पताल भर्ना भएकाले रोगलाई जित्न सकेको उनको भनाइ छ । उनले आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको पनि बताइन ।
सङ्क्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको उनको भनाइ थियो ।
अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नपाएको भन्दै उनले उपचारका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन ।
२७ दिनपछि अस्पतालबाट निस्कँदै गर्दा उनलाई फूल दिएर बिदाइ गरिएको थियो ।
गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै उनी काठमाण्डौ आएकी थिइन ।