News Portal

झापाका मस्जिदमा प्रहरीकाे उच्च निगरानी, २३ जनाकाे आरडिटी रिपोर्ट नेगेटिभ

थाहा खबर
४१५ पटक

भद्रपुर :  उदयपुरमा १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै झापा प्रहरीले पनि जिल्लाका मस्जिद तथा मदरसामा उच्च निगरानी बढाएको छ।

झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार जिल्लामा ७० वटा मस्जिद र ४९ वटा मदरसा छन्। बिर्तामोड १ स्थित जामा मस्जिद र दमक ७ स्थित जामा मस्जिदमा २३ जना बसेका छन्। बिर्तामोडमा ९ मध्ये ८ जना भारतीय छन् भने दमकमा १४ जना नै भारतीय नागरिक बसेका छन्।

बिर्तामोडका ९ जनाकै र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट स्वास्थ्य परीक्षण भइसकेको छ। ‘त्यहाँ सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भने, ‘दमकमा रहेका १४ जनाकै शनिबार आरडिटीबाट परीक्षण गरिएको छ।

त्यहाँ पनि रिपोर्ट नेगेटिभ नै आएको छ।’ १४ जनामध्ये चारको पिसिआर प्रविधिबाट परीक्षण गर्नुपर्ने देखिएकोले उनीहरूको स्वाब कोसी अञ्चल अस्पताल विराटनगर पठाइने उनले बताए।

जिल्लामा अहिलेसम्म ५ सय २० जनाको आरडिटीबाट परीक्षण गर्दा सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको राईले बताए। जिल्लाका मस्जिद तथा मदरसा सञ्चालकहरूसँग समन्वय हुने सबै धार्मिक कर्म बन्द गराइएको छ।  उनीहरूकै समन्वयमा धार्मिक कर्म बन्द गरिएकोले अरू जिल्लामा जस्तो धेरै जोखिम नरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। त्यहाँ बसिरहेकाहरूलाई सेल्फ क्वारेन्टाइनका रूपमा मस्जिदभित्रै राखिएको छ।

त्यहाँ पनि प्रहरीको निगरानी छ। जिल्लाका अरू मस्जिद तथा मदरसामा कोही नबसेको एसपी काेइरालाले बताए। जामा मस्जिद बिर्तामोडका सचिव एजाज अहमदले मस्जिदहरूमा अहिले ताला लगाइएको जानकारी दिए।

उनका अनुसार मुस्लिम समुदायमा जमात आउने परम्परा झन्डै ९० वर्ष पुरानो हो। सीमा नाकासँग जोडिएका भद्रपुर, कचनकवल र झापा गाउँपालिकामा मुस्लिम समुदायको बसोबास धेरै छ।

प्रतिकृया दिनुहोस्