News Portal

पैसा छरेर’ भागेको भनिएकी महिलाको पिसिआर रिपोर्ट निगेटिभ, आइसोलेसनमै राखिने

रातोपोस्ट संवाददाता
६१६ पटक

जनकपुर । जनकपुरधामको महावीर चोकमा पैसा छरेर भागेको भनिएकी महिलाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरमा आइतबार गरिएको स्वाब (पिसिआर) परीक्षणमा दुवै जना महिलाको रिपोर्ट निगेटिभ आएको हो ।

कोरोना आशंका गरिएको दुबै महिलाको स्वाब परीक्षणको रिपोर्ट निगेटिभ रहेको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले बताए । साहले उनीहरुको अन्तिम रिपोर्ट १ः१५ बजे मा आएको जनाएको छ ।

शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा गरिएको आरडीटी टेष्टमा पोजिटिभ देखिएपनि स्वाब परीक्षणमा दुबैजनाको अन्तिम रिपोर्ट निगेटिभ आएको उनले जनाए ।
दुबैजना महिलाको स्वाब परीक्षणको अन्तिम रिपोर्ट निगेटिभ देखिएकोले थप जाँचको लागि काठमाडौँ पठाउन नपर्ने उनले स्पष्ट पारे । स्वाब रिपोर्ट निगेटिभ देखिएपनि दुबैजना महिलालाई केही दिन आइसोलेसनमै राखिने उनले बताए ।

शनिबार अपरान्ह जनकपुरधामको महावीर चोकस्थित सडकमा वडा नम्बर ७ जानकी नगरमा घर भएकी दुई महिला पैसा छरेर फरार भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सीसीटीभी फुटेजको मद्दतले दुवै महिलालाई शनिबार अपरान्ह उनीहरुलाई घरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेलगत्तै प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा दुवैजनाको -यापिड टेस्ट गर्न लगाएको थियो ।

प्रतिकृया दिनुहोस्