News Portal

कोरोनालाई जितेर कैलालीका युवक अस्पतालबाट डिस्चार्ज भए

रातोपोस्ट संवाददाता
४२० पटक

कैलाली। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत् कोरोना संक्रमित युवक निको भएका छन्।

उनलाई अस्पतालले आजै डिस्चार्ज गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज बिकको दोस्रो र तेस्रोपटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

२२ चैतमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनको हिजो ६  वैशाखमा दोश्रोपटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो।

त्यसको २४ घण्टा पछि आज अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए।

उनले युवकको दुईपटक नै कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज घर पठाइएको बताउँदै घर फर्किएपछि पनि एक हप्तासम्म सामाजिक दूरी कायम गर्न आग्रह गरिएको बताए।

भारतबाट  १२ चैतमा गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो।

नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ चैतदेखि बसेका थिए । ११ दिनसम्म क्वारेन्टाइनमा र त्यसपछि सेती प्रादेशिक अस्पतालमा १३ दिन आइसोलेसन बसेका उनी घर फर्कन पाउँदा दङ्ग देखिन्थे।

यसअघि नेपालमा कोभिड-१९ देखिएका तीन जना बिरामी डिस्चार्ज भइसकेका छन्।

प्रतिकृया दिनुहोस्