News Portal

ओली, अध्यादेश र अनिष्टकाे कालो बादल

बलराम तिमिल्सिना
८९५ पटक

#ओली, #अध्यादेश #र #अनिष्टको #कालो #वादल !
******************
#थालनी:-
मन्त्री परिषदबाट दुई अध्यादेशहरू पारित हुदै छन् भन्ने समाचार उल्कापिण्ड जस्तै अकस्मात मान्छेका दिमागमा बज्रिन आइपुग्यो । अधिकाङ्शले यो अध्यादेशको आवस्यकता र औचित्य वारे मेलो मेसो नै पाएनन्। कोरोनाको कहरले एकोहोरो भएका नागरिकको दिमागले अध्यादेशको भाषा तत्काल बुझ्ने कुरा पनि थिएन। कतिपय भलोमनका मान्छेहरूले सोचे- कतै निजी अस्पतालहरूलाई राष्ट्रियकरण गर्ने अध्यादेश पो हो कि ? मानिसहरू नयाँ समाचारको पर्खाईमा ब्यग्र बनेर बसे।
अर्को एउटा खवर आयो- मन्त्री परिषदको वैठकपछि पूर्व माओवादीका मन्त्रीहरू छुट्टै वैठक बस्दै। त्यही समाचारले थप्यो- त्यसपछि उनीहरू यस वारेमा प्रचण्डलाई ब्रिफिङ गर्न खुमलटारतिर हान्निए । यसै बीच अर्को खवर आयो- प्रचण्डले अध्यादेश प्रकरणलाई दूर्भाग्यपूर्ण भनेर टिप्पणी गरे ।त्यही खवरको छेउछाउबाट अर्को खवर आयो- अघिल्लो दिन केपी ओली र प्रचण्ड बीच गरमागरम बहस भएको थियो, त्यही बहसबाट क्रुध्द बनेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई देखाइदिन अध्यादेश ल्याएका हुन्।
समाचार आउने क्रम थामिएन। थामिने कुरा पनि भएन। देशको दुई तिहाईको सरकार चलाएको पार्टीभित्र फूट हुन सक्ने अड्कलबाजीहरू सुरु भए। एता सरकारी पार्टीको सचिबालयको वैठक बस्ने समाचार थियो त उता सेनाले पनि जनरलहरूको आकस्मिक बैठक बोलाएको खवर समानान्तर रुपमा आयो। मानिसहरूको मन कोरोनाबाट भड्किएर अक्कासी अध्यादेश, पार्टी बिभाजन, विभिन्न पार्टीका सांसदहरू जोड्दा हुन आउने विभिन्न समिकरणको अङ्क तालिका, शङ्कटकाल, राष्टूपति शासन,सैनिक कू यस्तै यस्तै चित्र मान्छेको दिमागमा घुम्न थाल्यो। यसै बीच सरकारी नेकपाको सचिबालयको बैठक बालुवाटारमा बस्ने खवर आयो र बैठक कक्षसम्म प्रधान मन्त्री आफ्नै खुट्टाले टेकेर कुनै वैशाखी या सहयोगी नलिई आइपुगेको खवर पनि आयो। कति त प्रधानमन्त्रीको दुई सय मिटर जतिको ताते तातेलाई युध्द मैदानमा आक्रमण गर्न वायुवेगमा दौडेको फौजी अफिसरसँग पनि तुलना गरेर संभावित विजयको आशाले गदगद बने !
अँ बैठक पनि बस्यो । पहिले नै पैदल आएका बहादुर प्रमले हिट्लर, चाउचेस्कु, जार या च्याङ्काइसेक शैलीमा आफूले अध्यादेश ल्याउनु पर्नाको कारण बारे जमेर आफ्ना कुरा राखे र उपस्थित अरुको सातो बोलाए। त्यसपछि उपस्थित सदस्यहरूले अध्यादेशको विधि, प्रकृया र औचित्य वारे भद्र तथा रक्षात्मक कुराहरू राखे। बैठककै बिचमा हठात राष्ट्रपति कार्यलयबाट अध्यादेश स्विकृत भएको खवर हान्निएर आइपुग्यो र बैठक कक्षमा प्रवेश गर्यो। आफ्नो मिशन सफल भएकोमा खड्ग प्रसाद जी बिजयी मुद्रामा मुस्कुराए भने वाँकि अरु युध्द हारेर भागेका सिपाही जस्तै मुन्टो झुकाएर आत्मसमर्पणको शैलीमा बसे। त्यसपछि बबाल निर्णय भयो ।
सचिबालयको ऐतिहासिक तथा शानदार बैठक बस्यो। बैठकमा प्रमले अध्यादेश वारे आफ्नो पक्ष राख्नु भयो ।उपस्थित अरु मलिन मुद्रामा फुसफुसाए। अध्यादेश पारित भएको खवर आयो ।त्यसपछि फुसफुसाउनेहरूको वाक्य पनि बन्द भयो।अन्तमा कोरोना नियन्त्रणमा सरकारले खेलेको विश्वमै उत्कृष्ट भूमिकाको भजन गाउदै भविष्यमा पनि पार्टीको एकतालाई अहिलेजस्तै सुमधुर बनाइराख्ने निर्णय सहित बैठक सम्पन्न भयो। बैठक पनि प्रवक्ता नारायण काजी श्रेष्ठले यही बेहोराको चिर्कटो पढेर सुनाए। यसो होला कि त्यसो होला भनेर अनुमान गर्नेहरूको अनुमानले नाकले पानी पियो ।
#ओलीइज्म:-
धेरै मान्छेलाई अझै पनि खड्ग प्रसाद ओली कम्युनिष्ट हुन भन्ने परेको छ। त्यसो त नेपालीहरूको दिमागमा कम्युनिष्ट भनेकै खड्ग प्रसाद ओली जस्तै हुन्छन् भन्ने परेर पनि कम्युनिष्ट बन्ने कुरासँगै डराउँने रोग लागेको छ। चवालिस बर्ष अघिको कुरा संझेर अझै कति मानिसहरू ओलीलाई पुरानो झापाली स्पिरिटको #लाल सम्झन्छन। जसरी आजका प्रचण्लाई जनयुध्दको प्रचण्डसँग तुलना गरेर अझै पनि कैयन मान्छेको जुनी बितिरहेको छ, ठीक त्यसै गरी मिस्टर ओली वारे पनि अझै मान्छेहरू भ्रममा वाँचिरहेका छन् । त्यसो त प्रश्न ओलीको मात्र होइन , सिङ्गै एमालेको हो।सिङ्गै एमालेको संसोधनवाद हुदै साम्राज्यवाद तथा बिस्तारवादको चुत्थो नोकर हुने र जति चुत्थो नोकर भए पनि आफूलाई कम्युनिष्ट देखाएर देशका गरीव निमुखाहरूको निर्दोष भावनासँग खेल्ने धोकेवाज इतिहाससँग ओलीको इतिहास जोडिएको छ। फरक कति मात्रै हो भने, आत्म समर्पण, गद्दारी , क्रुरता र दोहोरो चरित्रको अभिनयमा एमालेका अन्य नेताहरूभन्दा ओली अव्वल देखा परे। त्यो उनको केही थप व्यक्तिगत विशेषता हो।
बिगतमा महाकाली संधी गर्दा सेट लाइटबाट बिजुली बेच्ने खुस्कट गफ दिएर एमालेलाई राष्ट्रघातको फोहोरी आहालमा चूर्लुम्म डुबाउँन खलनायकको प्रभावकारी भूमिका खेल्न सफल ओली एकाएक केही वर्ष अघिको भारतीय नाकाबन्दीको समयमा महान राष्ट्रवादी बनेर देखा परे। अहिले पनि ओली त्यही राष्ट्रवादको टालो हल्लाएर भ्रम दिने कोशिश गरिरहेका छन्। पछिल्लो पटक एमसिसि संसदबाट अनुमोदन गराउँन ज्यान छोडेर लागेपछि उनको राष्ट्रवादको लगौंटी खुस्केको छ र उनी निर्बस्त्रझैं छन्। तै पनि ओलीका भक्त अरिङ्गालहरूका नजरमा ओलीको नग्नता बादशाहको नयाँ पहिरन बनेर चलनचल्तीमा छ। बास्तवमा ओली गणतन्त्रवादी पनि होइनन्। संघीयताका त उनी ज्यानी दुश्मन नै हुन। धर्म निरपेक्षता उनलाई ठुस्स गन्हाउँछ। समावेशी समानुपातिक भनेपछि उनको कन्पारो तात्छ।तै पनि इतिहासले कस्तो प्रहसन गरेको छ भने त्यही व्यक्ति कम्युनिष्टको नाममा, गणतन्त्रको नाममा , संघीयता र समानुपातिकको नाममा देशको कार्यकारी प्रमुख बनेको छ। बास्तवमा ओलीइज्म भनेको नयाँ केही नभएर पहाडे राष्ट्रवादको परिमार्जित दलाल पूँजीवादी संस्करण मात्रै हो । उनको रगतको कण कणमा क्रुरता, अपारदर्शिता, नोकरशाही खलनायकता, पश्चमुखी सोच तथा थाहै नभएको कुरा पनि भरमार थाहा भए जसरी भन्न सक्ने बज्रस्वाँठ उपबुज्रुकता देखिन्छ। स्याटलाईटबाट बिजुली बेच्ने कुरा, राइनो नेपालमा मात्र पाइन्छ भन्ने कुरा एवम् तातो पानीले हात धोएपछि कोरोना भाइरस मर्छ भन्ने उनका कुराहरु उनका त्यस्तै आनीबानीका केही उदाहरणहरू हुन् ।

#अध्यादेश किन ?
अध्यादेश त्यस्तो दुई धारे तरबार हो , जसले भविष्यमा आफू सत्तामा टिकिरहनको लागि देशमा विद्यमान अरु राजनीतिक पार्टीहरूलाई फुटाएर सरकारमा सामेल बनाउन पनि काम लाग्छ तथा भविष्यमा आफ्नै पार्टी फुटाउनु पर्दा पार्टीभित्र चालीस प्रतिशत पुग्न गाह्यो भयो भने सांसदहरूलाई किनेर भने पनि चालीस प्रतिशत पुर्याउँने र यही तरबार देखाएर प्रचण्ड लगायत आफ्ना विरोधीहरूलाई बलीको बोको बनाइराख्ने निकै षडयन्त्रकारी, असामयिक तथा गैह्र राजनीतिक काम गर्न सक्छ। देश कोरोनाको संक्रमणको भयमुनि थिचिएको समयमा, जनता पैदल यात्रा हप्तौंको यात्रामा भोकै नाङ्गै प्रहरीको लाठी खादै हिडिरहेको अबस्थामा, सिङ्गै देशको अर्थतन्त्र धराशायी बनेर बेरोजगारी, भोकमरी र गरीवीले थला पर्ने संत्रास फैलिरहेको समयमा जनताको दैनिक जीवनसँग दुई पैसा पनि सरोकार नभएको यस्तो अध्यादेश ल्याउने काम मानसिक स्थिति असामान्य रहेको तानाशाहले मात्र ल्याउछ। कोरोनासँग लड्न संयुक्त मोर्चा बनाउने प्रचण्डको प्रस्तावको जवाफ उनले यसरी दिए कि- उनी परिस्थितिले साथ दिने हो भने कोत पर्व मच्चाएर नयाँ जङ्गबहादुर बन्ने मनसुवामा छन् । कम्युनिष्ट लोगोको ओली अनुहारभित्र जङ्गबहादुर जन्मन मिति पुगेर छटपटाइरहेको प्रष्टै देख्न सकिन्छ।त्यसैले यो अध्यादेशको प्रकरणलाई सरकारी नेकपाभित्रको मुध्दा मात्र नमानेर ओलीको अपबित्र हातबाट बर्दीसहितको या बर्दीरहीतको तानाशाह जन्मने सुरसारको रुपमा बुझेर आम नेपालीले प्रतिवाद गर्नु पर्छ।यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने यो #अध्यादेश #ठ्याक्कै #हिटलरको #जन्मदिन #पारेर #आएको छ । #याद #रहोस #अप्रिल #बीस #तानाशाह #हिटलरको #जन्म #दिन #हो। जनता लकडाउनको कारणले सडकमा निस्कन नपाउने नैतिक अप्ठेरोको फाइदा उठाएर ओलीले नरम या कडा कूको तयारी गरिरहेको सजिलै बुझ्न सकिन्छ । दोश्रो कुरा , यो अध्यादेशको पछाडि अमेरिका र भारत छ भन्ने पनि सजिलै बुझिन्छ। एमसिसि जस्ताको तस्तै पारित हुन सरकारी नेकपा फुट्नै पर्ने अनिवार्यताको पृष्ठभूमिमा पार्टी बिभाजन गरेर भने पनि एमसिसि पास गरेर छोड्ने धम्की दिएर प्रचण्ड, झलनाथ, माधव नेपाल र भिम रावलहरूलाई धम्काएर तह लगाउँने र जरुरी पर्यो भने पार्टी फुटाएर पनि आफ्ना अन्तराष्ट्रिय मालिकहरूको ईच्छा पुरा गर्ने घृणित उद्देश्यले घटनाक्रम अघि बढेकोले यसलाई रोक्न नागरिकहरूको तहबाट उचित कदम चाल्न जरुरी छ।
#भविष्य:-
त्यसो त त्यत्तिकै पनि देशको निकट भविष्य सुखद छैन। किन भने , माथि चर्चा गरिएजस्तै हामी जे कुरालाई जनताले लडेर ल्याएको उपलब्धी भनेर भन्छौ, ती उपलब्धीहरूको कट्टर बिरोधी देशको कार्यकारी प्रमुख बन्ने विडम्बनामा हामी छौं।हामी यस्तो विदुषक शासकबाट शासित हुन बाध्य छौं -जो न गंभीर छ, न जनताप्रति उत्तरदायी छ, जो न स्वच्छ छ, न उदार छ र न सिक्ने कुराप्रति इमान्दार छ। जनतालाई अधिकार दिनु भन्दा सेनालाई सत्ता सुम्पन तयार अन्यायी, दुईजिब्रे, भ्रष्ट, अहङ्कारी तथा क्रुर शासकको हातमा देश हुनु र उसको बैधानिक समय अझै वाँकि हुनुले निकट भविष्यमै देशमा कुनै सुखद घटना घट्ने संभावना देखिदैन। जहाँसम्म सुदुर भविष्यको कुरा छ- यस खाले अन्यायी तथा अत्याचारी शासकहरूले अनिवार्य रुपमा बिद्रोहलाई जन्माउँछन्। जनता सँधै चुप लागेर बस्दैनन। सँधै लक डाउन पनि रहिरहदैन। राणा शासनमा ग्रेडिङमा रहेका राणाहरू नै विरोधमा निस्केजस्तो नेकपामै पनि बिभाजन हुने कुरा पक्का पक्की छ। हरेक तानाशाहको पनि एउटा आयु हुन्छ। हावाँ सँधै एकै दिशाबाट मात्रै आउदैन।ऐले विश्वव्यापी रुपमा दक्षिणपन्थको हावा चलेको छ। अमेरिकामा ट्रम्प, भारतमा मोदी र नेपालमा ओली त्यही हावाका सन्तानहरू हुन। ट्रम्प र मोदीको दादागिरीले एक दिने हावा खाने छ।ठीक त्यसै गरी ओलीको दादागिरी पनि थला पर्ने छ। त्यसो भनेर हाम्रा दुर्दिनहरू उसै ढल्ने छैनन्। त्यसका लागि एउटा लामो र कष्टसाध्य संघर्ष गर्नुको विकल्प छैन। त्यसको लागि घर घरमै बसेको समयमा पनि हाम्रा मस्तिष्कलाई धारिला बनाऔं। आजको विषम परिस्थितिमा पनि आवाज उठाऔं र भविष्यमा अग्रगामी शक्तिहरूको नयाँ मोर्चा बनाएर लड्ने तयारीको सपना देख्न सुरु गरौं !

२०७७|०१|०९
भक्तपुर

प्रतिकृया दिनुहोस्