News Portal

विदेशमा ज्यान गुमाएका नेपालीको उतै अन्त्येष्टि गरिँदै

थाहा खबर
४९४ पटक

काठमाडौं : कोरोना संक्रमणका कारण विश्‍वभर लकडाउन चलिरहँदा विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव उतै अन्त्येष्टिप्रक्रिया अघि बढाइएको छ। विदेशबाट नेपालीको शव ल्याउन नपाएपछि सम्बन्धित देशका नेपाली दूतावासहरुले नेपालबाट सहमति पत्र मगाउन थालेका छन्।

नेपाली कामदारको शवलाई विदेशमा अन्त्यष्टि गरिदिन सम्बन्धित देशले दबाब दिन थालेपछि नेपालस्थित वैदेशिक रोजगार बोर्ड र कन्सुलर विभागले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएका हुन्।

सडक दुर्घटना, विभिन्‍न कारणले बिरामी र आत्महत्याबाट गरेका नेपाली कामदारको शव एक महिनादेखि नेपाल आएका छैनन्। उपचार गराउँदा गराउँदै अस्पतालमा ज्यान गुमाएका वा कालगतिले मृत्यु भएकाको शवलाई अस्पतालको शव गृहमा राखिएको छ। शवको संख्या बढ्दै गएपछि सम्बन्धित देशले त्यहाँका नेपाली कूटनीतिक निकायलाई शव अन्त्येष्टि गर्न भनेपछि परिवारबाट अनुमति माग्‍न थालिएको हो।

लकडाउनको अवधि बढेसँगै नेपालमा शव ल्याउन नसकिएको वैदेशिक रोजगार विभागका निर्देशक राजन प्रसाद श्रेष्ठले बताएका छन्। उनका अनुसार विदेशका अस्पतालमा लामो समय शव सम्म राख्‍न नमिल्ने भएकोले सम्बन्धित देशले लैजना आग्रह गरिरहेका छन्। विदेशमा अन्त्यष्टि गर्न पनि उनीहरुले सहमति मागेपछि नेपाली कूटनीतिक निकायले यसको पहल थालेका हुन्।

दैनिकजसो विदेशस्थित दूतावासबाट दुईजनाले सहमति पत्रका लागि सम्पर्क गरिरहेको उनले स्पष्ट पारे। नेपालबाट अहिलेसम्म विदेशमा रहेका कामदारको शवको अन्त्यष्टि गर्न पाँचजनाको सहमति पठाइसकेको उनले जानकारी दिए। ‘विदेशमा दुईजनाको अन्त्येष्टि पनि गरिसकिएको छ,’ उनले भने,’परिवारको सहमतिमा सेसेल्स र दक्षिण कोरियामा एक-एकजनाको शव अन्त्यष्टि भइसकेको छ।’

दुबईमा रहेकी झापाकी महिलाको शवको अन्त्यष्टि गर्न पनि सहमति पत्र पनि पठाइसेको उनले बताए। सहमति पत्र दिन मान्‍ने परिवारलाई सम्पर्क गरिरहेको उनले बताएका छन्। नेपालबाट सहमति पत्र पठाउन स्थानीय वडा र जिल्ला प्रशासनको अनुमति चाहिन्छ। तर लकडाउनमा फसेका मृतकका आफन्तले अनुमति ल्याउन सकेका छैनन।

सहमति पत्र आएपछि विदेशस्थित दूतावासमा पत्र पठाइने श्रेष्ठले जानकारी दिए। धेरैका आफन्तले लकडाउन खुलेपछि शव ल्याउने सहमति पत्र दिएका छैनन्। वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा ७० जनाको शव रहेको छ। साइप्रसमा पनि एकजना नेपालीको शव रहेको छ। तर कसको हो भन्‍ने पुष्टि हुन बाँकी रहेको श्रेष्ठले बताए।

साउदी अरबमा २८, मलेसियमा १५, दुबईमा १२, कुवेतमा ६, कतारमा ८, सेसल्स, पोर्चुगल र दक्षिण कोरियाबाट पनि एक-एक जनाको शव लकडाउनका कारण अड्किएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्