News Portal

स्वास्थ्यकर्मीले दिए बुद्धशान्ति कोरोना प्रकोप कोषमा सहयोग

तीर्थ तिम्सिना
९०५ पटक

झापा।  बुद्धशान्ति गाउँपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुँदै गएको हो । मंगलबार बुद्धशान्ति गाउँपालिकाभित्र दिनरात स्वास्थ्यलाई जोखिम मोलेर सेवा दिइरहेका स्वास्थ्यकर्मीले समेत स्वतस्र्फूत रुपमा सहयोग रकम जम्मा गरेका छन् ।

गाउँपालिकाभित्र रहेका ६ वटा सामुदायिक स्वास्थ्य इकाई, एउटा स्वास्थ्य शाखा, एउटा आयुर्वेद र २ वटा स्वास्थ्य चौकीमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीले ५६ हजार रुपैँया विपत व्यवस्थापन कोषमा जम्मा गरेका छन् ।

उक्त रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल र प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंलाई हस्तान्तरण गरिएको छ ।

बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारी र शान्तिनगर स्वास्थ्य चौकी प्रमुख भरत खतिवडा लगायतले गाउँपालिकालाई रकम हस्तान्तरण गरेका हुन् ।

विपन्नको राहतका लागि गाउँपालिकाले स्थापना गरेको विपत कोषमा थोरै भए पनि रकम सहयोग गरिएको स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए । शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख भरत खतिवडाले स्वास्थ्यकर्मी भएको नाताले राहत रकम कोषमा जम्मा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सम्भवत झापा जिल्लामै पहिलोपल्ट स्वास्थ्यकर्मीले राहत कोषमा सहयोग गरेको बताएका छन् । यसलाई उदाहरण मानेर अन्य स्थानीय तहका स्वास्थ्यकर्मीले समेत सिको गरी राहत रकम सहयोग गर्न सके स्थानीय सरकारलाई राहत वितरणमा थोरै भए पनि सहयोग पुग्ने खतिवडाले बताए  ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले दिनरात आफ्नो स्वास्थ्यलाई दाउमा राखेर सेवा दिइरहने स्वास्थ्यकर्मीले समेत स्थानीय सरकारले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेकोमा प्रशंसा गर्दे धन्यवाद दिएका छन् ।

उनले आगामी दिनमा स्थानीय सरकारलाई सहयोग गर्ने दातालाई सम्मान गर्ने पनि बताए ।

गाउँपलिका उपाध्यक्ष मीरा भुर्तेलले अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीले स्थानीय सरकारलाई सहज होस् भनी राहत कोषमा रकम जम्मा गरेकोमा स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिएकी छन् ।

गाउँपालिकाको विपत व्यवस्थापन कोषमा मंगलबारसम्म १८ लाख रुपैँया भन्दाबढी रकम जम्मा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् ।

गाउँपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरिसकेको छ भने छुट भएका विपन्न परिवारलाई बुधबारदेखि दाेस्राे चरणकाे राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्