News Portal

  • कोरोना, मानवता र पुँजीवादी मुखुण्डो

    रातोपोस्ट
    ६२७ पटक

     

     

     

     

     

     

     

     

     

     

    पाेखरा। कोरोना भाइरस (कोभिड १९) महामारीले विश्व आक्रान्त छ। मानव जातीको अस्तित्व माथि नै गंभिर संकट आइलागेको छ।

    २० लाखभन्दा बढी संख्यामा मानिस संक्रमित भएका छन्। १ लाख ६० हजारभन्दा बढी मानिसहरूको मृत्युु भइसकेको छ र यो संख्या बढ्दो दरमा छ। अर्थतन्त्र ठप्प भएको छ । विश्व अर्थव्यवस्था खस्कने निश्चित नै छ ।

    महामारीको संकट अहिले सबैभन्दा धेरै युरोप र अमेरिकामा छ। मुनाफा र सैन्य शक्तिको लागि होडबाजी गर्ने पुजींवादी मुलुकले पर्याप्त समय हुदाहुदै नियन्त्रणको आवश्यक तयारी नगरेको कारणले महामारी विश्वभर फैलियो।

    शक्तिका आधारमा विश्व साम्राज्य खडा गरेका शक्तिशाली राष्ट्रहरुलाई महामारीको नियन्त्रण गर्न कठिन भइरहेको छ । महाशक्तिको घमण्डलाई महामारीले एकै झट्कामा भत्काइदिएको छ। यो लेख मुनाफाका लागि नागरिकको जीवन बलिमा चढाउने पुजींवादमा मानवता मरेको यथार्थमा केन्द्रित हुनेछ ।

    नवउदारवादी पुजींवाद, जसले एकाधिकार पुजींवादको आडमा नवउदारीकरण र निजीकरण मार्फत शिक्षा र स्वास्थ्य जस्ता सार्वजनिक हितको विषयलाई व्यापारको वस्तु बनायो। जसले विपन्न वर्गले शिक्षा र स्वास्थ्यमा आफ्नो पहुँच गुमाए भने उच्च वर्गको पेवा जस्तै बनाइदियो।

    उत्पादनका साधन, वितरण प्रक्रिया, सेवा र आपूर्ति तथा अत्यावश्यकीय समानहरुमा राज्यले नियन्त्रण गुमायो । पुजींवादले खडा गरेको कथित भुगोलविहिन प्रतिस्पर्धाले पुजीको केन्द्रीकरण भयो, गरिब झन गरिब भए । पुजींवादले मानिसको जीवनलाई केबल पुजींपतिहरुको पैसा कमाउने साधन बनाइदियो।

    नाफाको लागि विश्वमा प्रभुत्व जमाउन अरबौको संख्यामा मानिस मार्न सक्ने हतियार बनाउने पुजींवादले मानवीय संकट समाधानका लागि नाफा नहुने भएकोले कुनै पूर्वतयारी गरेको देखिएन। पुजीवादमा मानवता, मानवअधिकार देखाउने दात मात्र हुन् ।

    उनीहरूद्वारा सिर्जित मानवअधिकारवादी संघसंस्थाहरु मानवअधिकारको विषयमा त्यति मात्र बोल्छन् जति बोल्दा पुजीवादी सत्तालाई घाटा हुदैन । वास्तवमा नाफामा मात्र बाच्ने पुजीवादमा मानवता नै हुदैन ।

    पुजीवाद त्यस्तो प्रणाली हो, जहाँ आफू अनुकुलको नियम कानुन बनाइन्छ र नागरिकलाई खुलेयाम लुटिन्छ, साँचो अर्थमा पुजीवाद लुटेरा व्यवस्था हो । पुजीवादले आफ्नो अमानवीय चरित्र मानवअधिकारवादी संघसंस्थाको आवरणमा ढाकछोप गरिरहेको थियोे तर कोरोना महामारीले ढाकछोप गर्नै नमिल्ने गरि पुजीवादमा मानवता मरेको यथार्थलाई उदाङ्गो पारिदिएको छ । महामारीको समयमा घटित मानवताविरोधी केही दृष्टान्तहरु हेरौं, यसले अझ स्पस्ट पार्नेछ

    अन्तर्राष्ट्रिय दृष्टान्त :

    कोरोना भाइरस (कोभिड १९) सुरुमा चिनको वुहानमा देखियो। वुहानका जनता महामारीले मरिरहेका थिए। उक्त समयमा अमेरिकी राष्ट्रपति ट्रम्प र पश्चिमा मुलुकहरूले चिनलाई यही मौकामा चेताउनुपर्छ भन्ने मनसायले वुहान भाइरस, चिनिया भाइरस भनी खिसिटिउरी गरे, माओको तस्बिरमा माक्स लगाइदिएर गिज्याउने काम गरे। वुहानको जनताको संकट र मृत्युमा कत्तिपनि सहानुभूति देखिएन ।

    ट्रम्पले अमेरिका बन्द गर्नका लागि बनेको देश होइन भनेर लकडाउन गरेनन् । उनको यो राष्ट्रभक्ति थिएन अमेरिकी व्यापारीहरुको चिन्ता थियोे । जबकि उनैले महामारीको कारण अमेरिकामा २ लाख ४० हजार मान्छे मर्न सक्ने बताएका थिए । ट्रम्पलाई नागरिकको मृत्यु भन्दा व्यापारीको चिन्ता बढी देखियो ।

    फेब्रुअरीमा इटालीले युरोपेली युनियनको कोअर्डिनेसन सेन्टर अफ इसेन्सियल मेडिकल सप्लाइजलाई आवश्यक सहयोगका लागि गरेको अनुरोध उसले सुनेन। युरोपियन युनियनका कुनैपनि देशले इटालीको संकटमा सहयोग गरेनन् । अरु मरे मरुन म चै बाच्नुपर्छ भन्ने भाव देखियो ।

    महामारीकै समयमा अमेरिकाले यमनलाई दिदै आएको राहत कटौती गर्य‍ो साथै ट्रम्पले आफ्नो असक्षमता लुकाउन विश्व स्वास्थ्य संगठनलाई चिनको पक्षपोषण गरेको आरोप लगाउदै दिदै आएको सहयोग रोक्ने निर्णय गरी असहिष्णुता प्रदर्शित गर्यो।

    अमेरिकाले उसका केही चुनिएका सत्रुहरुलाई संकटको समयमा झनै सास्ती दिएर चेताउन नाकाबन्दीलाई कडाइ गरेर पुजींवादको क्रुरता र निचता पुष्टि गर्यो ।

    टर्की सरकारले सत्ता विरोधी गीत सङ्गीत र कलामा लगाएको प्रतिबन्ध विरुद्ध २८८ दिनको भोक हड्तालको क्रममा चर्चित गायिका संगितकर्मी हेलिन बोलिकको तुर्कीस जेलमा मृत्यु भयो।

    टर्कीको फासीवादी चरित्र त प्रदर्शित भयो नै तर अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाहरुले बोलेको देखिएन
    साम्राज्यवादी मुलुकहरुलाई नागरिकको भन्दा महाशक्ति होडबाजी को चिन्ता देखिन्छ, पुजिवादको असक्षमता लुकाउन एक अर्कालाई दोषारोपण गरिरहेका छन् तर मानवीय संकट समाधानप्रति आवश्यकता अनुसारको तदारुकता देखाएका छैनन् ।
    नेपालमा देखिएका दृष्टान्त

    जनतालाई परेको विपत्तलाई सरकार देखि व्यापारीसम्मले कमाउने अवसरको रुपमा प्रयोग गरे। मेडिकल सामाग्री खरिदमा अनियमितता भयो, व्यापारीले कृतिम अभाव सृजना गरेर अत्याधिक मुल्य वृद्धि गरेर नागरिकलाई सास्ती दिए।
    लकडाउनको समयमा निजी अस्पतालहरुले बिरामीको उपचार गर्न नमानेको र बिरामीहरु उपचार अभावमा मृत्युु भएको समाचारहरु आए ।
    भारतीय नाकामा हजारौं नेपाली अलपत्र परेको र नेपाल फर्कन चाहेको समाचारहरुले व्यापकता पायो तर सरकारले तिनलाई नेपाल ल्याउने र व्यवस्थापन गर्ने कुनै चासो देखाएन, बरु जसोतसो नेपाल छिरेकालाई नाङ्गै हिडाएको तस्बिरहरू देखियो। विदेशिएका मजदुरहरूको विपत्तिमा आफ्नाे देश पनि खोसियो।

    भोकले मर्ने अवस्था सृजना भएपछि पैदल नै गाउँ फर्किरहेको खबरहरुले सामाजिक सञ्जाल तातियो तर सरकारलाई यो विषयले छोएन।

    घरसम्म पुग्ने व्यवस्थापन या उचित राहतको प्रवन्ध केही गरिदिएन। विपत्तिमा गरिबका लागि काम लाग्ने सरकार देखिएन।
    राहत वितरणमा कुहिएको चामल वितरण गरेको, वितरणमा पार्टीगत आधारमा भेदभाव गरिएको खबरहरु पनि आए।

    कोरोना महामारीलै मध्यनजर गर्दै महान्यायाधिवक्ताको कार्यलयले सामान्य प्रकृतिका मुद्दाका बन्दीहरुलाई छोड्न भन्यो तर सरकारले विप्लव नेतृत्वको नेकपा का सयौं कार्यकर्ता झुट्टा र सामान्य मुद्दामा बन्दी बनाइएको छ तिनलाई पुुर्वाग्रह राखेर छोडिएन बरु अदालतले छोड भनेकालाई पुनः गेटबाटै गिरफ्तार गर्ने काम गर्यो तर साच्चिकै अपराधीहरु मौका छोपेर छुटाइयो ।

    पशुपति आर्यघाटमा पैसा नभएर दाहसंस्कार गर्न नपाएको खबरले व्यापकता पायो। पुजीवाद लासमा पनि व्यापार गर्छ भन्ने कुरा पुष्टि भयो।

    यि सबै दृष्टान्तहरु पुजीवादका मानवताविरोधी घटानाहरुको प्रतिनिधि घटना मात्र हुन्। अन्यथा हरेक समाजमा हरेक परिवारमा पुजीवादका कारण मानवता मरिरहेको छ। प्राकृतिक विपत्ति होस् या महामारीले धनी- गरिब, ठूला-साना केही भन्दैन भनिएपनि यसको नकारात्मक प्रभाव सबैभन्दा बढी गरिबलाई पर्दछ।

    कोरोना महामारी विशेषतः गरिबहरुमाथि निर्मम र ज्यादै डरलाग्दो बनेको छ। गरिबहरु आज रोगले भन्दा भोकले मर्ने अवस्था सृजना भइरहेको छ। शासकहरु रोगलाई देखाएर भोकलाई कैद गर्न खोजिरहेका छन्।

    महामारीले मर्नलाई धनी पनि मरेका छन् तर एउटा पुजीपति मरेको करोडौं मरेझै प्रचार गरिन्छ र सबैलाई थाहा हुन्छ तर करोडौं गरिब मरेको कुनै हिसाबकिताब नै हुदैन।

    मर्न त गरिबहरु यसै पनि मरिरहेका नै थिए रोगले, भोकले कति म’रे न कुनै समाचार बन्छ न कुनै अभिलेख छ । गरिबी उत्पादनक‍ो साधनको निजीकरणको उपज हो, गरिबी पुजी केन्द्रीकरणको उपज हो, गरिबी मुनाफाको उपज हो । साचो अर्थमा गरिबी नै पुजीवादमा मानवता मरेको सबैभन्दा ठूलो प्रमाण हो ।

    पुजीवादले मानिसलाई भ्रष्ट बनायो । पुजीकै आधारमा पद प्रतिष्ठा प्राप्त हुने प्रणाली निर्माण गरिएकोले मानिसलाई लोभी, लालची र स्वार्थी बनायो । जसले हरेक मानिसको उ भित्रको मानवतालाई मारिदियो।

    कोरोना महामारीलाई मानवनिर्मित भएको पनि आशङ्का गरिएको छ, हो होइन भोलि तथ्यले प्रमाणित गर्ला तर यति चै भन्न सकिन्छ मुनाफाका लागि प्रकृतिको दोहन, अत्याधिक विषादीको प्रयोग , बढ्दो वातावरण प्रदुषणका कारणले महामारी होस् या प्राकृतिक विपत्ति आउने गरेको छ र यसका लागि पुजीवाद दोषी छ।

    भविष्यमा मानवजाती र पृथ्वीको रक्षाका लागि समाजवादी व्यवस्था नै अबको विकल्प हो । जसले मानवतालाई सर्वोपरि मान्दछ, प्रकृतिको दोहन होइन उपयोग र संरक्षण गर्दछ। अन्यथा वैज्ञानिक स्टेफन हकिङ्ग्सले भविष्यवाणी गरे झै अबको १०० वर्षमा मानवजातीको अस्तित्व रक्षाको लागि अर्को ग्रह खोज्नुको विकल्प नहुनसक्छ। लेखक विप्लव नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सचिवालय सदस्य हुन । 

    प्रतिकृया दिनुहोस्