News Portal

अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रष्ट्याउँदै नेकपाका अध्यक्षद्बय

रातोपोस्ट संवाददाता
५६३ पटक

काठमाडौं। सरकारले ८ बैशाखमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे सत्तारुढ दल नेकपाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग छलफल थालेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग समूहगत छलफल आजदेखि थालेका हुन्।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अर्को अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोना विरुद्धका अभियानका विषयमा पनि सांसदहरुसँग छलफल हुनेछ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारबाट अध्यक्षद्बय ओली र दाहालले सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री ओलीले छलफलमा सांसदहरुलाई अध्यादेशका बारेमा ब्रिफिङ गर्नेछन्।

राष्ट्रपतिबाट जारी भइसकेका दुईवटै अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पास हुनुपर्छ। त्यसैको तयारी स्वरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले छलफल अघि बढाएका हुन्। समूहगत छलफल अन्तर्गत आज र भोलीसम्म सबै प्रदेशका सांसदहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्