News Portal

सत्ता, मन्दिर र मान्छेहरु

खेम आचार्य
११८० पटक

सत्ता, मन्दिर र मान्छेहरु
********************

किन ? खोपिदैनन
मन्दिरका टुँडालहरुमा
हलो जोतिरहेको किसानको चित्र
पसिना बगाईरहेको मजदुरको चित्र
टुँडाल बनाउन खटिरहेका
सिकर्मी, डकर्मी अनि कालिगढ्का चित्र
मुर्ती बनाईरहेका शिल्पकारका चित्र
खोपिन्छन किन ?
अस्लिल चित्रहरू मात्र
के छ त्यस्तो रहस्य !
मन्दिर र यी चित्रहरू वीचमा
प्रश्नै प्रश्नको चाङ माथी बसेर
एक तमासले हेरि रहन्छु ‘म’
मन्दिरका टुँडालहरु ।

मूलढोका भित्र चियाउँछु
देवताको नामले चिनिएको
एउटा निर्जिव कलात्मक ढुङ्गा
फूल, अविर, अक्षता र पैसाले पुरिएको छ ।
नजिकै ठिङ्ग उभिएको छ
अर्को कालो ढुङ्गो
जो सँधै नाङ्गो देखिन्छ
मानौं ऊ नागाहरुको वस्तीबाट
सदियौं पहिले बसाइँ सराइ गरेर
आएको हुनुपर्छ
यता आएर उसले सरकारको
प्रतिकात्मक प्रतिनिधित्व गरेको छ
त्यसैले त सरकार जस्तै
सधैं चोखो छ ऊ पनि
भक्तहरु दूध चढाई रहेका हुन्छन
र ऊ दुधले नुहाइरहेको देखिन्छ ।।

मन्दिर बाहिर
मुस्किलले लाज छोप्न सफल
गरिबीको कारण
आफ्नो पहिचान समेत नभएका
बच्चा देखि बृद्धासम्म
बर्षौ ननुहाए जस्ता देखिने
जिङ्रीङ्गको हुल्याहा बोकेका
केही थान मान्छेहरू
रित्तो कचौरा थापी
भोक प्रदर्शन गरिरहेछन ।
कलात्मक ढुङ्गाको दर्शन गर्न
लाइनमा बसेका भक्तहरु
देखेर पनि देख्दैनन तिनीहरुलाई
सुनेर पनि सुन्दैन ती भोका आवाजहरु
तर ‘म’ एक तमासले हेरिरहेछु
भोकको आगो बोकेका
ती चिसा मान्छेहरू ।

यतिबेला
सत्ता र मन्दिर उस्तै लाग्छ
ढुङ्गा जस्तै मन भएका
सत्ताका मालिक
र ढुङ्गाकै शरीर भएका
मन्दिरका मालिक
दुबै शोषण गर्न माहिर छन
शोषण गराउन उद्धत छन
दुबैका मालिक उस्तै देखिन्छन
हेर्दा शान्त देखिन्छन
तर क्रूर क्रूर छन ।

आखिर !
कति दिन खप्न सक्छ्न ?
भोकको आगो ! मान्छेहरूले
जब धैर्यताको बाँध फुट्छ
आफैं भित्रको आगोले तातिनेछन
ती चिसा मान्छेहरु
हुर्‍याउनेछन रित्ता कचौराहरु
र ओकल्नेछन आगोका लप्काहरु
जलाउनेछन सारा अधर्महरु *
जहाँबाट खोसिएको थियो
प्राकृतिक न्याय
त्यहीँबाट शुरु हुनेछ
नयाँ अभ्यास ।
*************
(*अधर्महरु: सबैखाले मानवता विरोधी कार्यहरू)

– खेम आचार्य
चितवन
(२०७७/०१/१०)

प्रतिकृया दिनुहोस्