News Portal

झापाका मेयरहरुले जुटाए कोरोनासँग लड्ने साझा सहमति

अर्जुन कार्की
४९४ पटक

मेचीनगर । झापाका आठ वटा नगरपालिकाका प्रमुख (मेयर)हरुको  मेचीनगरमा भएको संयुक्त बैठकले कोभिड १९ (कोरोना)को सम्भाव्य संक्रमण रोकथामका लागि साझा प्रयास गर्ने सहमति जुटाएको छ ।

मेचीनगर नगरपालिकाको पहलमा इटाभट्टामा भएको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गर्दै १४ बुँदे निर्णय निर्णय गरेको छ ।

सरकारले लकडाउन गरेयता झापाका मेयरहरु एकैथलोमा उपस्थित भएर बैठक गरेको यो पहिलो अवसर हो ।

बैठकमा लामो समयसम्म भइरहेको लकडाउनले उत्पन्न खाद्य संकट, राहत वितरण, कृषि मलको अभाव, कोरोना जाँच, क्वारेन्टाइनका कठिनाइहरु, उद्योग सञ्चालन, अलपत्र भएका नागरिकको उद्धार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको परिचालन, प्रदेश र संघीय सरकारसँगको सहकार्य लगायतका विषयमा विस्तृत छलफल भएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

अहिलेसम्म भइरहेका गतिविधिको गहन समीक्षा गरियो बैठकको अध्यक्षता गरेका नगरप्रमुख आचार्यले बैठकपछि भने कोरोनाको संक्रमण रोक्न र लकडाउनका बेला राहत तथा उद्धारका कार्यमा साझा पहल गर्ने सहमतिमा पुगियो ।

झापा जिल्लाभरिका स्थानीय तहबीच रोकथाम र नियन्त्रणको कार्यलाई प्रभावकारी तवरले एकरुपता कायम गर्दै व्यवस्थापनमा सहकार्य गर्ने नगरप्रमुखहरुको बैठकको निष्कर्ष थियो ।

बैठकले राहत वितरणमा एकरुपता ल्याउने, खाद्यान्न तथा तरकारी पसल खुल्ने समय एउटै बनाउने, चिया बगान र उद्योग सञ्चालनका लागि एउटै मापदण्ड बनाउने, कृषि मलका लागि प्रदेश सरकारलाई अनुरोधन गर्ने, स्वास्थ्यकर्मीका लागि पीपीई लगायतको पर्याप्त व्यवस्थाका लागि नेपाल सरकारसँग माग गर्ने, आरडीटी किट र पीसीआरको पर्याप्त व्यवस्थापनका लागि सम्बद्ध निकायमा पहल गर्ने, आपतकालीन राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने र सञ्चारकर्मी र सुरक्षाकर्मीलाई आवश्यक सुरक्षा सामग्री व्यवस्थापनका लागि प्रदेश र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

दमक, काँकरभिट्टा लगायतका प्रवेश नाकामा सम्भावित संक्रमित, सवारी साधन र मानिसको ओहोरदोहोरको सम्बद्ध नगरपालिकाले नै उच्च सतर्कता अपनाउने र काठमाडौं तथा देशका अन्य भागमा रहेका नगरवासीको उद्धार गरी ल्याउन वैशाख १६ गते अर्को बैठक बसी निर्णय गर्ने समेत बैठकमा निर्णय गरिएको छ ।

सो बैठकमा मेचीनगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेती, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्मा र उपप्रमुख भोजकुमारी नेपाल, कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल, भद्रपुरका नगरप्रमुख जीवन कुमार श्रेष्ठ, विर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटी, अर्जुनधाराका नगरप्रमुख हरि राना, दमकका नगरप्रमुख रोमनाथ ओली र गौरादहका नगरप्रमुख रोहित कुमार साहको उपस्थिति रहेको थियो ।

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङ, शिक्षा प्रमुख होम भण्डारी, सामुदायिक अधिकृत अनन्तप्रकाश वस्ती र खाद्य अधिकृत दिपेन्द्र राउतको समेत सो बैठकमा सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्