News Portal

विद्यालयलाई नतिजा प्रकाशित गर्न नगरपालिकाको निर्देशन

रातोपोस्ट संवाददाता
४७१ पटक

झापा । मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि वैशाख १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार नगरका सबै विद्यालयहरुलाई इमेलमार्फत परिपत्र गरेर यस्तो निर्देशन गरेको हो ।

यहि वैशाख १८ गतेभित्र २०७६ को बार्षिक परीक्षा सञ्चालन अन्तरगत कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

सामुदायिक तथा निजीका संस्थागत विद्यालयहरुलाई आइतबार इमेलमार्फत पत्र पठाएर नतिजा प्रकाशित गर्न अनुरोध गरिएको उनले बताए ।

मेचीनगर–१४ स्थित बाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापाले आइतबार नगरपालिकाको इमेलमार्फत पत्र आएको बताए ।

यहि विहीबार भित्र कक्षा १, २, ३, ४, ५, ६, ७ र ९ को परीक्षाको नतिजा प्रकाशित गर्ने आशयको परिपत्र आएको उनले बताए । सोहि अनुसार तयारी गर्न शुरु गरिएको उनको भनाई छ ।

लकडाउनका कारण केहि विद्यालयहरुको परीक्षा सकिएको छैन । एउटादेखि ४ वटा विषय सम्मको परीक्षा अझै केहि विद्यालयको बाँकी नै छ । तर, सबै विद्यालयहरुले छुटेको परीक्षा नगराई नतिजा प्रकाशन गर्न लागेको बुझिएको छ । प्रधानाध्यापक थापाले सामुदायिक विद्यालयहरुले सञ्चालन गरेको परीक्षामा सबै विषयको परिक्षा सकिएको दावी गरे ।

नगर शिक्षा शाखाले गत चैत ५ गतेभित्र सबै विषयको परीक्षा सक्न निर्देशन गरेको थियो । तर, केहि निजी विद्यालयहरुले उक्त कक्षाको सबै विषयको परिक्षा सकेको छैन ।

‘लकडाउन खोल्ने सम्भावना कम छ’, नगर शिक्षा शाखाका प्रमुख भण्डारीले भने–‘सामाजिक दुरी कायम गरेर विद्यालयले नतिजा प्रकाशन गर्न सक्नेछन् ।’

परीक्षाको नतिजाले लकडाउनका बेला विद्यार्थी र अभिभावकहरुको मनोबल उच्च होस र खुशी पनि हुन भन्ने उद्देश्यले त्यस्तो निर्देशन गरिएको भण्डारीको बुझाई छ ।

एनप्यावसन झापाका पूर्व अध्यक्ष सञ्जिव राईले मेचीनगरको हकमा हाम्रो प्रायः सबै विषयको परीक्षा सकिएको तर, जिल्लामा सबै विद्यालयको नसकिएको बताए । परीक्षा नसकिएको विद्यालयको हकमा शिक्षा मन्त्रालयको निर्देशन अनुसार तीन तहको परीक्षाको विषयलाई मार्किङ् गरेर नतिजा प्रकाशित गर्न सक्ने जनाएको पूर्व अध्यक्ष राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्