News Portal

बाह्रदशीका कोरोना संक्रमित पुरुष एक महिनाअघि दिल्लीबाट आएका थिए

विवेक राई
४१७ पटक

झापा। झापाको बाह्रदशी गाउँपालिकाका ५० वर्षीय कोरोना संक्रमित पुरुष भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ।

गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार संक्रमित पुरुष ३५ दिन अगाडि दिल्लीबाट घर आएका हुन्।

उनले संक्रमित पुरुष दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको बताए। गाउँपालिकाले उनलाई अस्पताल पठाउने तयारी गरिरहेको छ। अध्यक्ष राजवंशीले भने, ‘हामी धरान वा विराटनगर पठाउनलाई छलफल गर्दैछौं।’

संक्रमित पुरुष दिल्लीबाट फर्केर घरमै बसे पनि उनी बजारतिर घुलमिल भएको भन्ने छ। गाउँपालिका अध्यक्ष राजवंशीले पुरुषले धेरै विवरण नदिँदा सम्पर्कमा आएकाहरू पत्ता लगाउन गाह्रो भएको बताए।

‘उहाँलाई होम क्वारेन्टाइनमा बस्नु भने पनि बजारतिर गएको भन्ने खबर छ। सम्पर्कमा आएकाहरुको खोजी गर्न गाह्रो पर्ने भयो,’ उनले भने।

सुरुमा उनको र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि थप शंका लागेको भन्दै गाउँपालिकाले स्वाब परीक्षणको लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो।

आज आएको नतिजामा पुरुषमा कोरोना संक्रमण पुष्टि भयो।

यसअगाडि झापाको दमकका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। उनको पनि विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रतिकृया दिनुहोस्