News Portal

नेकपा महिला नेतृ बन्धु चन्द पुनः गिरफ्तार

रातोपोस्ट संवाददाता
११९४ पटक

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन दाङले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरेर कपिलवस्तु लगेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी भगवानराजले अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालयले रिहा गर्ने आदेश दिइसकेको बेला पनि प्रहरीले पुनः गिरफ्तार गरेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी वलीको ठाडो आदेशमा राजनीतिक पूर्वाग्रह राखेर चन्दलाई गिरफ्तार गरिएको पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्यसमेत रहनुभएकी चन्दलाई आइतबार जिल्ला प्रशासन कार्यालय दाङले २ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । दाङको घोराही वडा प्रहरी कार्यालयको हिरासतमा रहेकी चन्दलाई प्रहरीले पुनः गिरफ्तार गरेर बेपत्ता बनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनुअघि २०७५ साल फागुन ११ गते प्रहरीले चन्दलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न जिल्लामा घुमाइरहेको छ । चन्दलाई अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके हुँदै दाङका जेल र हिरासतमा राखिएको थियोे । उनलाई यसरी पटकपटक गिरफ्तार गरी जेल र हिरासतमा राखिरहने कुनै पनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छोड्न आदेश दिँदै आएका भए पनि ‘माथिको आदेश’ भन्दै प्रहरीले बारम्बार गिरफ्तार गरिरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण देश लकडाउनमा रहेको समयमा प्रहरीले भने नेपाल कम्युनिस्ट पार्टीका नेतालाई गिरफ्तार गरेर यस्तो बेलामा पनि एक जिल्लाबाट अर्को जिल्लामा लगिराखेको छ ।

बन्धु चन्दका छोरा प्रतीक चन्दले दायर गरेको रिटमा सर्वोच्च अदालतले पनि कारण देखाऊ आदेश जारी गर्दा बन्दीलाई स्थान परिवर्तन नगर्नू भनी आदेश दिएको छ । तर अदालतको आदेशविपरीत ठाउँ परिवर्तन गरी कपिलवस्तु लगिएको छ ।

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुवाससहित चारजनालाई दाङ जिल्ला प्रहरीले पुनः गिरफ्तार गरे पनि बाँके प्रहरीले भने रिहा गरेको थियो ।

प्रतिकृया दिनुहोस्