News Portal

किम जोङ्ग जिवितै रहेको पुष्टि, निधनको हल्ला निराधार

रातोपोस्ट संवाददाता
१०७८ पटक

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ्ग उन जिवितै रहेको पुष्टि भएको छ । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरिसकेको छ ।

किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट गरेका छन् । उनले पत्रमार्फत् आभार प्रकट गरेको उत्तर कोरियाली पत्रिकाले सोमबार जनाएको छ । आभार प्रकट गरिएको पत्रको मिति भने उल्लेख नगरिएको रुसी समाचार संस्था तासले जनाएको छ ।

११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका छैनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए ।

उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । उनको मुटुको शल्यक्रिया भएको विषय पनि बाहिर आएको थियो । चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उनको उपचारका लागि पुगेको खबर हिजो आएको थियो ।

उत्तर कोरियाको घटनाबारे विश्वमा कमैमात्र जानकारी हुनेगर्छ । त्यहाँका घटनाहरु अति गोप्य राखिन्छन् । सरकारी सञ्चारमाध्यमबाट मात्र वास्तविकता केही बाहिर ल्याइन्छ ।

प्रतिकृया दिनुहोस्