News Portal

बाह्रदशीमा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई खोज्दै, ६२ जनाको स्वाब संकलन

थाहा खबर
५९० पटक

झापा : बाह्रदशी गाउँपालिकामा कोरोना संक्रमित बिरामी फेला परेपछि त्यहाँका स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाउँदै बिरामीका सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरेका छन्।

दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सभाबाट फर्किएका वडा नम्बर ४ स्थित चकचकीका ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

ती पुरुष स्थानीय मदरसा दारुल उलुम प्राविका प्रधानाध्यापक हुन्। लकडाउन सुरु हुनुअघिसम्म उनी त्यहाँ विद्यार्थीलाई पढाउँथे। साथै, उनले गाउँमा राहत वितरणमा समेत सहयोग गरेको खुलेको छ। त्यसैले उनको सम्पर्कमा आएका व्यक्ति, शिक्षक, विद्यार्थी र आफन्तजनको खोजी कार्य तीव्र गतिमा भइरहेको छ।

कोरोना संक्रमित बिरामीको गाउँपालिकामा आफन्तजन नै धेरै छन्। अहिलेसम्म ६२ जना सम्पर्क आइसकेका छन्। अरू पनि सम्पर्कमा आउने क्रम जारी गरेको बाह्रदशी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम साहले बताए।

बिरामीका चार जनाको परिवार रहेको छ। ‘उनका श्रीमती र छोराछोरी, छरछिमेकमा रहेका आफन्तजनसहित ६२ जनाको स्वाब संकलन गरिसकेका छौं,’ साहले भने, ‘पहिलो चरणमा उनीहरूको स्वाब कोशी अञ्चल अस्पताल विराटनगर पठाउँछौ, त्यहाँबाट रिपोर्ट आएपछि मात्र दोस्रो चरणको स्वाब संकलन सुरु हुन्छ।’ त्यस क्षेत्रमा कसैको पनि आरडिटी परीक्षण नगरेको स्वास्थ्य शाखाका प्रमुख साहले बताए।

कोरोना संक्रमित व्यक्तिको दुई पटक आरडिटी परीक्षण गर्दा कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको थियो। उनको गत वैशाख ४ मा पहिलो पटक र शनिवार मात्रै दोस्रो पटक आरडिटी परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।

तर, उनको पिसिआर परीक्षण गर्दा मात्र रिपोर्ट पोजेटिभ आएको थियो। आरडिटीमा रिपोर्ट सही नआएकोले बाह्रदशीमा यस पटक कसैको पनि आरडिटीबाट स्वास्थ्य परीक्षण गरिएको छैन।

यता गाउँपालिकामा कोरोना भाइरस फैलिन नदिन वडा नम्बर ४ स्थित पूर्व तर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधा नगर (घाग्रा खोला)सम्मको चार किल्ला भूभाग गाउँपालिकाले सिल गरिसकेको छ। त्यहाँ आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रतिकृया दिनुहोस्