News Portal

चौतर्फी दवावपछि नेकपा सचिवालय बैठक बस्दै, निर्णायक माधव नेपाल

रातोपोस्ट संवाददाता
६८० पटक

काठमाडौं । चौतर्फी दवावपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ ।

यसअघि पार्टीमा आन्तरिक विवाद चर्कंदै गएपछि नेताहरुको पटक पटकको आग्रहमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सचिवालय बैठक बोलाउने बताएका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालसंग सोमबार छलफल गरेपछि उनी मंगलबार सचिवालय बैठक बोलाउन राजी भएका थिए ।

तर एकाएक मंगलबार फेरि उनी इच्छित देखिएनन् । सोमबारै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । मंगलबार भने प्रचण्डसंगै छलफल गरेपछि ओली बुधबार सचिवालय बैठक बोलाउन राजी भएका थिए ।

यो बैठकको मुख्य उद्धेश्य स्थायी समिति बैठक बोलाउने हुने पनि बताइएको छ । यसअघि नै ओलीले पार्टीमा आन्तरिक छलफल नै नगरी दुई वटा विवादास्पद अध्यादेश जारी गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

स्थायी समितिका १६ सदस्यले एक हप्ताअघि नै ओली र प्रचण्डलाई स्थायी समिति बैठक बोलाउन ज्ञापन पत्र बुझाएका थिए । स्थायी समितिको बैठक बोलाउने की नबोलाउने र बोलाउने भए कहिले बोलाउने भन्ने बारेमा बुधबारको सचिवालय बैठक केन्द्रीत हुने एक सचिवालय सदस्यले बताए । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।

पार्टीलाई जानकारी नै नदिई अध्यादेश जारी गरेको र प्रधानन्त्री ओली, सांसद्धय महेश बस्नेत तथा किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सांसद अपहरण काण्डमा संलग्न भएको आरोप लागेपछि पार्टीका शिर्ष नेताहरुको धेरै चरणमा छुट्टाछुट्टै भेला तथा छलफल गरेका थिए ।

अध्यादेश र सांसद अपरण काण्डपछि नेकपामा नेता तथा कार्यकर्ताहरु दुई ध्रुबमा बाँडिएका छन् भने नेताहरुको सक्रियता बढेको छ ।

कतिपय नेता तथा कार्यकर्ता र पार्टी बाहिरका व्यक्तिहरुले प्रधानमन्त्री ओलीलाई जिम्मेबारी मुक्त गर्नु पर्नेमा जोड दिँदै आएका छन् ।

यसमा माधव नेपालको प्रमुख भूमिका हुने अपेक्षा पनि गरिएको छ । उनी निर्णायक हुन सक्नेछन् । ओलीले बढी पेलेको भन्दै नेपाल प्रचण्डतर्फ ढल्केका छन् । तर ओलीले पनि सजिलै आफ्नो पद नछाड्ने भन्दै नेपाललाई सरकारको नेतृत्व वा पार्टीको जिम्मेवारी दिन सक्ने अनुमान पनि गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्