News Portal

भारतमा थपियो दुई हप्ता लकडाउन, जेठ ४ सम्म

रातोपोस्ट संवाददाता
७२९ पटक

काठमाडौं । कोरोना महामारी फैलिन नदिन भारतमा लागू लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ। भारतको केन्द्रीय सरकारले देशव्यापी रुपमा लकडाउन मे १७ तारिख अर्थात् जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। यसअघि घोषित लकडाउन मे ३ तारिख पूरा हुँदै छ। भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार अब नयाँ लकडाउन मे ४ देखि १७ सम्म लागू हुनेछ।

कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारत सरकारले जनाएको छ। भारतले कोरोना जोखिमको अवस्था हेरेर जिल्लाहरुलाई हरियो,रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ। कोरोना संक्रमित नभेटिएका,२१ दिनयता कसैमा पनि संक्रमण नदेखिएको जिल्लालाई हरियो मानिएको छ भने संक्रमित देखिएको जिल्लालाई रातोमा राखिएएको छ।

यस्तै हरियो वा रातोमा वर्गीकरण नगरिएका जिल्लालाई सुन्तला रंगमा वर्गीकरण गरिएको छ। यही आधारमा लकडाउन कडा तथा खुकुलो बनाइने भारतको गृह मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म भारतमा ३५ हजार बढी मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको मृत्यु भइसकेको छ। नेपालमा लकडाउन सुरु गरिएको चैत ११ गते हो भने भारतले त्यसको भोलिपल्ट लकडाउन लागू गरेको थियो। नेपालको लकडाउन भने वैशाख २५ गतेसम्म तोकिएको छ।

प्रतिकृया दिनुहोस्