News Portal

मलेसियामा थप ६ जना नेपालीमा कोरोना सङ्क्रमण

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाण्डौ। मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । यो सहित अहिलेसम्म मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमितमध्ये तीन जना भने निको भएर काममा फर्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

सङ्क्रमित सबैजना पुरुष रहेको र सबैको अवस्था सामान्य रहेको राजदूत पाण्डेले बताए । तीन जना निको भएर फर्किएको भए पनि बाँकी ६ जनाको उपचार भइरहेको छ ।

मलेसियामा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै भएकाले क्षेत्रगत हिसाबमा सोमबारदेखि मलेसियाले लकडाउन पनि केही खुकुलो बनाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि १२ मेसम्म लकडाउन घोषणा गरेको थियो ।

मलेसियामा अहिलेसम्म ६३ सय ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ४४ सय ८४ जना निको भएका छन् भने १७ सय ६४ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०५ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्