News Portal

लक्षणबिना नै धेरै संक्रमित भेटिएपछि डब्ल्यूएचओको टोली नेपालगञ्‍ज पुग्यो

रासस
५३२ पटक

बाँके। लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ।

नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्ल्यूएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा वस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका-८, महेन्द्रपार्क नजिक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्ल्यूएचओको उक्त टोलीले कोरोना भाइरस आशंकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरूको विस्तृत विवरण खुलाइएको छैन।

डब्ल्यूएचओको टोली यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ। भाेलि, २४ वैशाखदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। उनले भने, “जिल्लाका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आएको डब्लूएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ।”

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ। २१ वैशाखमा ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी हिजाे ४५ जनाको रिपोर्ट आउँदा सातजनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कूल संख्या २३ पुगेको छ।

समुदायस्तरमा स्वाब सङ्कलन शुरू

नेपालगञ्जको कोरोना संक्रमित वडा नम्बर ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब सङ्कलन शुरू गरिएको छ।

उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना संक्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब संकलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा आज बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेशन आसपासका क्षेत्रबाट स्वाब सङ्कलन शुरू गरिएको छ ।अहिले बाँकेलाई रेड जोनमा राखिएको छ।

प्रतिकृया दिनुहोस्