News Portal

झापामा मेयरकै संलग्नतामा बन फँडानी, जनकारवाही गर्ने विप्लव नेकपाको चेतावनी

रातोपोस्ट संवाददाता
९९२ पटक

झापा । कनकाई नगरपालिका–७ दुर्गापुर सडकखण्डमा बिना अनुमति जनप्रतिनिधिकै संलग्नतामा बन फँडानी गरिएको भन्दै नेत्रविक्रम चन्द (विप्लव) निकट नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीका कनकाई नगर इञ्चार्ज प्रलातले आइतबार एक विज्ञप्ति जारी गर्दै मौज्दात ऐनका विरुद्ध मेयर राजेन्द्र पोखरेलको प्रत्यक्ष संलग्नतामा रुख कटान गरी तस्करी भएको भन्दै उनीहरुलाई कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

सम्बन्धित निकायले बेवास्ता गरी कारवाही नगरे पार्टी जनकारवाही गर्न बाध्य हुने विज्ञप्तिमार्फत् चेतावनी समेत दिइएको छ ।
नगर इञ्चार्ज प्रलातद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘देश कोरोनाको महामारीसँग जुधिरहेका बेला जनप्रतिनिधिहरु जनताको सेवामा लाग्नुपर्नेमा मन्त्रीदेखि मेयरसम्म कालोबजारी, भ्रष्टाचार, कमिसन र तस्करीमा जोडतोडले लागिरहेका छन् भने जनताको सेवामा लाग्ने हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बिना कारण गिरफ्तार गरिएको छ, यस्ता अनैतिक र अमानवीय कार्यको पार्टी घोर भत्र्सना गर्दछ ।’

सडक विभागको जमिनभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका वडा नम्बर–७ दुर्गापुर बजारदेखि पश्चिममा रहेका मसलाका रुख अनुमति बिना मेयर पोखरेलको प्रत्यक्ष संलग्नतामा काटिएकोप्रति उक्त पार्टीले आपत्ति जनाएको छ ।

प्रतिकृया दिनुहोस्