News Portal

प्रदेश १ मा थप दुई जना काेराेना संक्रमित निकाे भए

रातोपोस्ट संवाददाता
५६६ पटक

विराटनगर। विराटनगरको कोभिड-१९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन्। यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ।

आइतबार दिउँसो झापाका एक र भोजपुरका एकजना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ४० वर्षीय पुरुष छन्।

भोजपुरका युवक वैशाख १० र झापाका पुरुष वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए। लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड-१९ उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलले जानकारी दिए।

दुबै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ।

कोभिड-१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए। यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए। अब १९ जना उपचार केन्द्रमा उपचाररत छन्।

शनिबार उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ३५ पुगेको छ।

प्रतिकृया दिनुहोस्