News Portal

भ्रष्टाचार, सीमा अतिक्रमण र कोरोनाको भेउ नपाउने प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना

रातोपोस्ट संवाददाता
६५४ पटक

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्ना अभिव्यक्तिका कारण पुनः विवादमा तानिएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा ‘भारतले नेपालको सीमा मिचेर सडक बनाउँदैछ भन्ने आफूलाई कसैले रिपोर्ट नगरेको र पत्रपत्रिका पढेर थाहा पाएको’ बताएपछि ओली पुनः विवादित भएका हुन् ।

यसअघि पनि ओली यस्तै यस्तै अभिव्यक्तिका कारण आलोचित हुँदै आएका थिए । नेपालमा ठूल्ठूला भ्रष्टाचार काण्ड सार्वजनिक भए । एउटा मात्र होइन, दर्जनौं यस्ता काण्ड सार्वजनिक भए पनि ओलीले भ्रष्टाचार नबढेको दाबी गर्दै आएका थिए ।

कतिसम्म आफ्नै क्याबिनेटका मन्त्री भ्रष्टाचारमा मुछिए पनि उनले यस्तो हुनै नसक्ने बताएका थिए । वाइडकडी खरिद काण्ड होस् कि स्वास्थ्य सामग्री खरिद काण्ड, प्रधानमन्त्रीले भ्रष्टाचार नभएको दाबी गरेका थिए ।

संसारभर कोरोनाभाइरसले महामारीको रूप लिइसक्दा प्रधानमन्त्री ओली नेपालमा कोरोना फैलिन नसक्ने बताउँदै आएका थिए । उनले नेपालीलाई कोरोना भाइरसले संक्रमण गर्न नसक्ने दाबी पनि गरे ।

सरकारको नेतृत्व गरेर पनि उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कुनै काम गर्न सकेनन् । अहिले देशभर कोरोना संक्रमण फैलिन थालिसकेपछि मात्र उनले लकडाउन खुकुलो भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि आफूलाई केही थाहा नभएको, कसैले रिपोर्टिङ नै नगरेको भन्दै ओलीले सार्वजनिक अभिव्यक्ति दिन थालेपछि नेकपाकै नेताहरू आश्चर्यमा परेका छन् ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले मंगलबार राति टिप्पणी गरे, ‘हैन बालुवाटारमा प्रधानमन्त्रीलाई कुनै रिपोर्ट नदिने को रहेछ’ भने र हुन पनि बालुवाटारमा बसेर प्रधानमन्त्री ओलीले के काम गर्छन् भन्ने जनताले प्रश्न गर्न थालेका छन् । राज्यका सबै संयन्त्र हातमा लिएर पनि सूचना नपाउनु भनेको लाजमर्दो अवस्था नै हो ।

प्रतिकृया दिनुहोस्