News Portal

धनगढी उपमहानगरपालिकामा अख्तियारकाे छापा

रातोपोस्ट संवाददाता
११९८ पटक

धनगढी । धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा हानेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

राहत सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न सबै कागजपत्र नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले बताए ।

ठाकुर ट्रेड लिंकलाई बोलपत्र दर्ताको समय नसकिँदै र मूल्याङ्कन नगरी उपमहानगरपालिकाले बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको बुझिएको छ ।

उपमहानगरपालिकाले गत वैशाख ११ गते बोलपत्र आह्वान गरेकामा दर्ताको समय वैशाख १४ गते १२ बजेसम्म राखेको थियो ।

वैशाख १४ गतेसम्म बोलपत्र दर्ताको समय भए पनि उपमहानगरपालिकाले भने वैशाख १२ गते नै ठाकुर ट्रेड लिंंकको बोलपत्र मूल्याङ्कनमा सफल भइसकेको उल्लेख गरेको छ ।

उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जोशी, खरिद एकाइ प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृतका लागि टिप्पणी उठाएर पेश गरेको देखिएको छ ।

सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि उपमहानगरपालिकाका विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए ।

उपमहानगरपालिकाले लकडाउनमा दैनिक छाक टार्न समस्या भएकालाई राहत दिने भनेर धनगढीस्थित ठाकुर ट्रेड लिंकसँग रु दुई करोड ६१ लाखमा चामल, दाल, नुन र तेल आपूर्तिका लागि सम्झौता गरेको थियो ।

प्रतिकृया दिनुहोस्